पत्नी वियोगको पीडामा रहनुभएका प्रधानमन्त्रीलाई भेट्न आज को–को पुगे बालुवाटार ?

पत्नी वियोगको पीडामा रहनुभएका प्रधानमन्त्रीलाई भेट्न आज को–को पुगे बालुवाटार ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानसेनापति, मन्त्रीहरु, अमेरिकी सहायक विदेशमन्त्री विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अस्ति निधन हुनुभएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

आजै नेपाल भ्रमणमा आउनुभएका संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले पनि श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, शहरी विकासमन्त्री सीता गुरुङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गर्नुभएको थियो ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, डा. शशाङ्क कोइरालालगायत नेता तथा कार्यकर्ताले पनि बालुवाटार पुगेर श्रद्धाञ्जली अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका शीर्ष नेतालेसमेत प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गर्नुभएको थियो । 

आजै कर्णाली प्रदेशका प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेता हितराज पाण्डेले पनि शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री र उहाँको परिवारलाई भेटेर समवेदना प्रकट गर्न नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सो पार्टीका शीर्ष नेताहरु, सांसद सोबिता गौतमलगायत पनि बालुवाटार पुगेका थिए ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार पाँच हजारबढी नागरिकले प्रधानमन्त्री पत्नी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । यहाँस्थित जापान, मलेसिया, स्वीटजरल्याण्ड, म्यानमार, थाइल्याण्ड, पाकिस्तान, इजिप्ट, भारत, बेलायत, जर्मनी, अष्ट्रेलिया, नर्वेलगायत मुलुकका राजदूत एवं प्रतिनिधि, संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधिलगायतले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेटेर समवेदना प्रकट गर्नुभएको थियो ।  

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि हिजो र आज बिहान ८ देखि १० बजेसम्म र अपरान्ह ४ देखि साँझ ६ बजेसम्मका लागि समय निर्धारण गरेको थियो ।

 

टिप्पणीहरू