विमानस्थलमा होहल्ला गरेका यात्रुलाई न्युरोड लगियो, हङकङमा डेढसयको बिचल्ली
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा होहल्ला गरेका नेपाल वायुसेवाका यात्रुलाई निगमको मुख्यालय, न्युरोड लगिएको छ । निगमको हङकङ उडान रद्ध भएपछि झण्डै पाँच दर्जन यात्रुले निगमका कर्मचारीहरुसँग चर्को विवाद गरेपछि उनीहरुलाई बसमा राखेर अहिले फ्लाइट चेञ्ज गर्न त्यहाँ पुर्याइएको बताइएको छ ।
बिहान ११ बजेको निगमको उडान नम्बर आरए ४०९ हङकङमा सुनामी आएको कारण देखाउँदै आजलाई रद्ध गरिएको थियो । त्यसपछि यात्रुहरुले विरोध गरेका हुन् । उनीहरुले आजै उड्न पाउनुपर्ने भन्दै होहल्ला गरेको निगम स्रोतले बताएको छ । अन्यथा, सबै यात्रुलाई होटलमा लगेर राख्नुपर्ने यात्रुको माग थियो ।
यात्रुको लगेज चेक नहुँदै उडान रद्ध भएकाले उनीहरुको माग जायज नभएको निगमको दाबी छ । निगमका १०९ जना यात्रुमध्ये १०२ जनाले अध्यागमनको प्रक्रिया पूरा गरिसकेको उनीहरुले जानकारी दिए ।
यताबाट निगमको विमान नउडेपछि हङकङ विमानस्थल पुगेका डेढ सय यात्रु पनि बिचल्लीमा परेका छन् ।
टिप्पणीहरू