पीडक आफैंले मीटरब्याज पीडित भन्न थालेपछि...

पीडक आफैंले मीटरब्याज पीडित भन्न थालेपछि...

मीटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले मीटरब्याजको विरोधमा आफूले गरिरहेको आन्दोलनमा घुसपैठ भएको जनाएको छ । मीटरब्याज पीडितहरुको न्यायिक आन्दोलनलाई नै बदनाम गराउने षड्यन्त्र रचिएको भन्दै समितिले सबैलाई सजग गराएको छ । 

समिति अध्यक्ष मनोजकुमार पासवानले महोत्तरीको भंगाहा नगरपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर–४, निमचौकमा नेपाल मोडेल कृषि फर्म प्रालि सञ्चालन गरेर बसेकी बबिताकुमारी साह र उनका श्रीमान सञ्जीव साहले आफूलाई मीटरब्याज पीडित भनाउँदै हिँडेको बताएका छन् ।

व्यवसाय सञ्चालनको नाममा दर्जनौं व्यक्तिसँग लिइएको लाखौं रकम फिर्ता नगर्ने उद्देश्यले साह मीटरब्याज पीडितहरुको आन्दोलनमा घुस्रेको उनको आरोप छ । ‘सञ्जीवकुमार साहले व्यवसाय सञ्चालनको नाममा दर्जनौं व्यक्तिसँग लाखौं रकम लिई फिर्ता नगर्ने तर पछिल्लो समय त्यसरी सापटी रकम दिइएका व्यक्तिहरुलाई बदनाम गराउने योजनासहित आफूलाई मीटरब्याज पीडित देखाउने प्रयास गरिरहेको घटनाप्रति मीटरब्याजविरुद्धको संघर्ष समितिको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, समितिले यो उनको ठगीधन्दा ढाकछोप गर्ने असफल प्रयास मात्र भएको जनाएको छ । अप्ठ्यारो परेको बेलामा एकाध दिनमै फिर्ता गर्छु भनि लिएको रकम वर्षौंसम्म फिर्ता नगरी उल्टै ऋण दिनेलाई नै जेल पठाउनेजस्ता नाजायज हर्कत उनले गरेको समितिको जिकिर छ । 

भनिएको छ, ‘जोसँग साहको लेनदेन थियो, चेक बाउन्स गरेको, विभिन्न बैंकले उनको फर्मलाई कालोसूचीमा राखेकोजस्ता घटनाले साह मीटरब्याज पीडित होइनन् र हुन सक्दैनन् भन्ने हाम्रो समितिको ठहर छ ।’

सञ्जीवले धेरैलाई पीडित बनाएको समितिको ठहर छ । काठमाडौंमा जारी मीटरब्याज पीडितको आन्दोलनमा फाट्टफुट्ट झुल्किने गरेका साह दम्पत्ती शुरुदेखि नै विवादमा तानिँदै आएका छन् ।  

उनीहरुले आफूलाई मीटरब्याज पीडित भन्न थालेपछि वास्तविक पीडितहरु आक्रान्त भएका हुन् । सोही क्रममा संघर्ष समितिले हिजो विज्ञप्ति जारी गरेर उक्त हर्कतप्रति घोर आपत्ति जनाएको हो ।

 

टिप्पणीहरू