निर्माणाधीन हेलिपोर्टको चर्को विरोध, पर्यटनमन्त्रीलाई ज्ञापनपत्र

निर्माणाधीन हेलिपोर्टको चर्को विरोध, पर्यटनमन्त्रीलाई ज्ञापनपत्र

नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकमा निर्माणाधीन हेलिपोर्टको काम तत्काल रोक्न माग गर्दै स्थानीयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेका छन् । 

मानवबस्तीबीच हेलिपोर्ट राख्न नमिल्ने उल्लेख गर्दै स्थानीय सूर्यबहादुर कार्की, श्रीकृष्ण खत्री र विक्रम थापालगायतले आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत् पर्यटनमन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

प्राधिकरणको नाममा रहेको ३३ रोपनी जग्गामा हाल हेलिपोर्ट निर्माणको काम अघि बढेको छ । त्यसका लागि ‘रिटेनिङ वाल’ को निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त जग्गा वरपर झण्डै एक हजार घरधुरी रहेको जानकारी गराउँदै उनीहरुले सो स्थानमा हेलिपोर्ट राख्न उपयुक्त नहुने बताएका हुन् । 

उक्त जग्गा प्राधिकरणले २०३२ सालमा हवाई जहाजको ‘इष्ट लोकेटर’ का लागि स्थानीयबाट अधिग्रहण गरेको थियो । सोही जग्गा हाल हेलिपोर्टका लागि प्रयोग गर्नु सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत रहेको उनीहरुको ठहर छ । 

त्यस्तै, वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ विपरीत वातावरणीय प्रभावसमेत मूल्याङ्कन नगरी हेलिपोर्ट निर्माण गर्न थालिएको आरोप लगाइएको छ । ‘कुनै पनि जनगुनासो, सल्लाह संकलन नगरी, सार्वजनिक सुनुवाईको मौकासमेत प्रदान नगरी उक्त हेलिपोर्ट निर्माण कार्य शुरु गरिएको’, ज्ञापनपत्रमा उल्लेख छ । हेलिपोर्ट निर्माणको क्रममा उक्त स्थानमा रहेको कुलोसमेत मासिदिएको स्थानीयको गुनासो छ ।

कुलो मास्दा सिचाइँमा प्रत्यक्ष असर परेको बताउँदै निवेदकले हेभि भाइब्रेटरले पर्खालको जग खन्दा ५० मीटरसम्म दूरीका घर पूरै चर्किएको जानकारी गराएका छन् । प्राधिकरणले त्यसको क्षतिपूर्ति दिनसमेत बेवास्ता गरेको ज्ञापनमा खुलाइएको छ । 

यसबारे प्राधिकरण र वडा नम्बर–१० को कार्यालयमा जानकारी गराउँदासमेत सुनुवाई नभएको उल्लेख गर्दै उनीहरुले आफ्ना माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

टिप्पणीहरू