पञ्चाङ्ग पात्रो प्रकाशन गर्न चाहनेलाई दस्तुर बुझाउन आह्वान

पञ्चाङ्ग पात्रो प्रकाशन गर्न चाहनेलाई दस्तुर बुझाउन आह्वान

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं २०८१ सालमा लागू हुने पञ्चाङ्ग पात्रो प्रकाशन गर्न चाहनेलाई दस्तुर बुझाउन आह्वान गरेको छ । 

आगामी साउन मसान्तभित्र नारायणहिटी दरबार परिसरभित्र रहेको समितिको कार्यालयमा दस्तुर बुझाउन पञ्चाङ्ग समितिले भनेको हो । समितिले आज सूचना जारी गर्दै सूर्य सिद्धान्तको मूल सूत्रबाटै गृहस्पष्टीकरण, ग्रहको उदय अस्त, चाडपर्व, विवाह, व्रतबन्धको मुहूर्त र ग्रहण आदि विषयहरु समावेश भएको पञ्चाङ्ग गणना गरेर मात्र नियमानुसार दस्तुर बुझाउन सूचित गराएको छ । 

‘पञ्चाङ्गकारले सूर्य सिद्धान्तको मूल सूत्रबाटै गृहस्पष्टीकरण, ग्रहको उदय अस्त, चाडपर्व, विवाह, व्रतबन्धको मुहूर्त र ग्रहण आदि विषयहरु समावेश भएको पञ्चाङ्ग गणना गरी नियमबमोजिमको दस्तुर २०८० साउन मसान्तसम्म यस नारायणहिटी दरबार परिसरभित्र रहेको समितिको कार्यालयमा बुझाउन समस्त पञ्चाङ्गकारहरुमा अनुरोध गरिन्छ’, सूचना उल्लेख छ ।

पञ्चाङ्गकारहरुले आफैंले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्गको गणित र वि.सं २०८१ को गणनाको सबै आधार र गणित पेश गर्नुपर्ने समितिले जनाएको छ । 

त्यस्तै, म्याद नाघेर पेश भएका वा अङ्क नपुगेका पञ्चाङ्गहरुलाई स्वीकृति प्रदान नगरिने स्पष्ट पारिएको छ । साथै, भित्रे पात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य समितिको स्वीकृति लिनुपर्ने स्मरण गराइएको छ ।

टिप्पणीहरू