फोहोरमैला व्यवस्थापनमा शुल्क लिने निर्णयविरुद्ध सर्वोच्चको आन्तरिम आदेश

फोहोरमैला व्यवस्थापनमा शुल्क लिने निर्णयविरुद्ध सर्वोच्चको आन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ककनी गाउँपालिकाको उक्त निर्णय संविधानको धारा २२८ (२) र धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ विपरीत देखिएको प्रारम्भिक निष्कर्ष निकालेको हो । 

आदेशमा भनिएको छ, ‘ककनी गाउँपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयनमा ल्याइएमा फोहोरमैला व्यवस्थापनमा जटिलता पैदा हुन जाने समेत देखिएको हुँदा सुविधा सन्तुलनका दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म गाउँपालिकाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू ।’

ककनी गाउँपालिकाले गत असार १९ गते काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर जाने सानो ट्रिपरसँग एक हजार र ठूलो ट्रिपरसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो । पालिकाको सोही निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले सर्वोच्चमा रिट दायर गरेको थियो ।

टिप्पणीहरू