क्लब किन धाउँछौ कलिला केटीहरू !
केही दिनअघि ललितपुरको शंखमुलस्थित लिटल फ्लावर पब्लिक स्कूलका शिक्षकले छात्रालाई पठाएको म्यासेजहरू सार्वजनिक भयो । कक्षा ९ की १५ वर्षीया छात्रालाई शिक्षकले ‘पिल्स खायौ ?’ भनेर एसएमएस पठाएपछि परिवारजनले प्रहरी गुहारेका थिए । उनीहरूबीच शारीरिक सम्बन्ध भएको झल्किने सूचना थियो यो । त्यसपछि प्रहरीले शिक्षकलाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ गर्याे । यता, ठमेलको चर्चित रात्रिक्लब एलओडीमा हालैमात्र रमाइलो गर्न पुगेकी किशोरीमाथि बलात्कार भयो ।
मदिराले मातेकी किशोरीलाई आफ्नो कार्यालयमा लगेर बलात्कार गरेको भन्दै कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पक्राउ परे । उमेर नपुगेकी बालिकालाई प्रवेश गराएको आरोपमा एलओडीका सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवाल पनि समातिए । अन्य दुई कर्मचारी म्यानेजर सहदेव सेढाईं र क्यासियर सपना ढुङ्गाना साउन १ गते हिरासतमा लगिएका हुन् ।
जेठ ३१ गते राति सुदनले १६ वर्षीया बालिकालाई एलओडीबाट आफ्नै गाडीमा हालेर ललितपुरको बागडोल पुर्याई बलात्कार गरेको आरोप छ । सुदनलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
उक्त घटना घटेको केही दिनअघि एलओडीमै काम गर्ने महिला कर्मचारीमाथि यौन दुव्र्यवहार भएको थियो । ती कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद–८ मा बालबालिकाविरुद्धको कसूरबारे उल्लेख छ । दफा ६६ को उपदफा (१) मा बालबालिकालाई धुम्रपान, मद्यपान वा जुवातासजस्ता कुलतमा संलग्न गराएमा कसूर मानिने प्रष्टै उल्लेख छ ।
उमेर नपुगेका बालबालिकाहरूलाई डान्सबार, क्यासिनोजस्ता मनोरञ्जनस्थलमा प्रवेश गराएमा ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजायँ हुने कानुनी व्यवस्था छ । तर, अनुसन्धान नै नसिध्याइकन प्रहरीले दुवै सञ्चालकलाई छोडेपछि यतिबेला चर्को आलोचना भइरहेको छ । प्रहरीका एक अधिकृतले किशोरी आफैं कोइरालासंग गएको देखिएकाले उसलाई मात्र कारबाही गरिएको हुनसक्ने बताए ।
किन बन्दैछन् नाबालिग निशाना ?
बालबालिकाहरू काँचो माटोजस्तै हुन् । जस्तो बनायो त्यस्तै बन्छन्, जे भन्यो त्यही मान्छन् । सही निर्णय गर्न नसक्ने भएकाले नै नाबालिग भनिएको हो । बलात्कारसम्बन्धी कडा कानुन हुँदाहुँदै पनि त्यसले समाजमा कुनै प्रभाव पार्न सकेको देखिन्न ।
१० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्मकैदको सजायँ हुने, १०–१४ वर्षकी बालिकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद सजायँ हुने कानुनी व्यवस्था छ । १४–१६ वर्षकी बालिकालाई बलात्कार गरे १२–१६ वर्षसम्म कैद हुनसक्छ । १६–१८ वर्षका बालिकालाई जबरजस्ती करणी गरेमा १०–१२ वर्षसम्म कैदको व्यवस्था छ । अधिवक्ता रामबहादुर मिजारको हेराइमा व्यक्तिगत स्वतन्त्रता, सोचाइ, जनचेतनाको अभाव, आधुनिकता यस्ता घटना बढ्नुको प्रमुख कारण हुन् ।
टिप्पणीहरू