विप्लव कमरेड, सप्रेको कि बिग्रेको ?
आदरणीय विप्लव कमरेड
तपाईंं कुनै बेला हाम्रो आदरणीय नेतृत्व, परिवर्तन चाहने देशका लाखौं युवाको ‘आइडल’ हुनुहुन्थ्यो । तर आजको दिनसम्म आउँदा परिवर्तन चाहने लाखौं युवाले तपाईंंप्रति गरेको अपेक्षामाथि गम्भीर प्रश्न खडा भएको छ ।
थुप्रै गद्दारी र धोकाधडीबाट आएको क्रान्तिकारी आन्दोलनमा अनेकौं निराशा थिए । त्यसका बाबजुद तपाईंंलाई आशाको एउटा किरणको रूपमा जबर्जस्त स्थापित गर्न हरक्षण प्रयत्न गर्याैं । तपाईंंको आदेशमा दलालहरूका हरेक अखडामा पड्किन र पड्काउन तयार भयौं ।
हिजो जसको आदेशले पड्किन तयार थियौँ, तर आज आएर हामी त्यही समयको गम्भीर समीक्षा गर्न पर्ने परिस्थितिमा पुगेका छौं । हिजो परिवर्तनकारी नेतृत्वकर्ता र लाखौँ युवाको आदर्शको रूपमा तपाईंंप्रति हामीले गरेको त्यो अपेक्षा गलत नै थियो त ? यही संसदीय व्यवस्थाको चुनावबाट समाजवाद आउँछ वा आउँदो रहेछ भन्ने कुरा महसुस गर्न १० वर्ष लाग्यो ?
यो महसुस तपाईंलाई त्यो बैलै भइदिएको भए, भएको त्यत्रो माओवादी पार्टी आज आएर १८ टुक्रामा विभाजित हुने थिएन होला । लाखौं नेता–कार्यकर्ताको बिचल्ली, विद्यार्थी नेता क. प्रज्वल, नेता कुमार पौडेल, तीर्थ राई, क. महान्, गोकुल, निरन्तरलगायत दर्जनौँ नेता–कार्यकर्ताले बलिदान दिन पर्थेन होला । साथै सयौं घाइते र हजारौंले मुद्दा, जेल र हिरासतको पीडादायी क्षण सामना गर्नु पर्थेन होला ।
अरु त छोडौं त्यत्रो दुनियाँभरको सत्तोसराप गरेर ‘महापतन’ पनि (जुन अहिले आएर गल्ती भएको स्विकार्नुभयो) लेख्न पर्थेन होला । यही ठाउँमा गएको भन्दै प्रचण्डलाई संशोधनवादीको आरोपलगायत सत्तोसराप गर्ने तपाईंलाई अब कोही अरुले त्यसो गर्न मिल्ने कि नमिल्ने ?
हिजो घुमिफिरी प्रचण्डलाई रुम्जीटार पुगेको आरोप लगाउने तपाईंलाई आज आएर हामीले त्यो आरोप लगाउन हुने कि नहुने ? उहीँ तपाईंको विचारको पूर्वसमर्थक, डिबी शाही, काठमाडौं
टिप्पणीहरू