अध्यक्ष कता, हाकिम कता
पाल्पाको माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीलाई राजनीतिक आग्रहका आधारमा काम गरेको आरोप लागेको छ ।
योजनाको काम गरेका उपभोक्ता र निर्माण व्यवसायीलाई राजनीतिक पुष्ठभूमि हेरेर आर्थिक वर्षको अन्त्यसम्म उनले रकम भुक्तानी नगरेको स्थानीय बासिन्दाले बताएका छन् । महिनाका १० दिन पनि हाजिर नहुने अधिकृतले असार मसान्तको चापलाई पनि नबुझेको आरोप छ ।
चालु वर्षको करिव ५–७ करोड योजनाको भुक्तानी रोकिएपछि गाउँपालिका पुगेका उपभोक्ताहरूसँग कमजोरी स्वीकार गर्नुको साटो चार जना कर्मचारीले जनप्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पुगेका छन् । प्रहरी चौकी इञ्चार्जसहितका प्रहरीले सुरक्षा दिएको ठाउँमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाई सुरक्षा पाइएन भनेर झुठ कुरा बोलेका छन् ।
नेपाली काँग्रेसको कार्यालयमा बसेर उजुरीको मस्यौदा तयार पारेका ज्ञवालीमाथि राजनीतिक आवरणमा काम गरेको आरोप छ । कमिसनका लागि थोरै बजेटका योजनामा पनि टेण्डर गराएका छन् । निर्माण व्यवसायीसँग कोशेली खाएको र खानी उद्योगीहरूसँग बेलाबेलामा गोप्य स्थानमा भेट्ने गरेको देख्नेहरु छन् ।
लेखा अधिकृत सन्तोष दाहाल, इञ्जिनियर धर्मेन्द्रकुमार यादव र लेखापाल टिकाराम बस्यालको उजुरीप्रति गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले झुट र भ्रमपूर्ण कुरा फैलाएको बताउनुभयो । एक नम्बरका वडाअध्यक्ष राजकुमार पन्थी र ३ का तेजबहादुर घर्तीले फट्याई र जालसाजीपूर्ण कर्मचारीको क्रियाकलापप्रति लिखित स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो ।
टिप्पणीहरू