चिनियाँ नेता आउनुअघि नेपालका सबै ठूला नेता देश बाहिर

चिनियाँ नेता आउनुअघि नेपालका सबै ठूला नेता देश बाहिर

भोलि मध्यान्ह चीनका एक जना ठूला नेता काठमाडौं आइपुग्दैछन् । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका पार्टी प्रमुख एवम् सचिव युआन च्या च्युन कोलम्बोबाट आउन लागेका हुन् ।

तीन दिने राजनीतिक भ्रमणमा काठमाडौं आउन लागेका युआन फर्कनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सबै मुलुक बाहिर रहनुहुनेछ । प्रधानमन्त्री आजै बेलुकी साताव्यापी भ्रमणमा रोमतर्फ प्रस्थान गर्नुभएकाे छ । । एमाले अध्यक्ष कम्बोडियामा हुनुुहुन्छ । उहाँ बुधबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल भोलि इण्डोनेसिया जाँदै हुनुहुन्छ ।

रकेट वैज्ञानिकसमेत रहेका चिनियाँ नेता युआन श्रीलंकाको भ्रमण सकाएर आउन लागेका हुन् । यसअघि चिनियाँ नेताले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट गर्ने कार्यक्रम बनाइएको थियो । त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सभामुख देवराज घिमिरेसँग भेट गर्ने तयारी छ ।

नेपाल आउन लागेका चिनियाँ पाहुना राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङका अति विश्वासपात्रमध्येका एक हुन् । उनलाई यसअघिका नेता बो सिलाईलाई विस्थापित गरेर नेतृत्वमा ल्याइएको हो । बो चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वसँग निहुँ खोजेपछि हाल कारागारमा छन् । 

नेपाल भ्रमणमा यसअघि अस्ति दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीको सोही नगरका परराष्ट्र मामिला उप–निर्देशक झाउ यी नेतृत्वको एक टोली आएको छ । टोलीमा उपनिर्देशक झाउसँगै लि बिन,झोङ्ग पेङ्ग र झाङ्ग मिन छन् । 

प्रधानमन्त्री प्रचण्ड र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा निस्केपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया शुरु हुन सकेको छैन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन तेस्रो सातादेखि अवकाशमा गएपछि रिक्त हुने पदमा नियुक्तिको मार्ग पनि अवरुद्ध भएको छ ।
 

टिप्पणीहरू