प्रधानमन्त्री प्रचण्डको स्वागतमा इटालीको परराष्ट्रका कर्मचारी
संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा भाग लिन रोम पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाँस्थित नेपाली प्रतिनिधि र इटालीको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको स्वागतका लागि अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीका लागि महावाणिज्यदूत एच सी पाउलो नुगेरी र त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्रीको टोली स्थानीय समय अनुसार साढे ७ बजे रोम पुगेको हो ।

प्रधानमन्त्री प्रचण्ड हिजो साँझ साढे ६ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै रोम प्रस्थान गर्नुभएको थियो । भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल, प्रधानमन्त्रीकी छोरी तथा निजी सचिव गंगा दाहाल,राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् ।
अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा शिखर सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । हालै नेपालले पाँच वर्षका लागि अति कम विकसित राष्ट्रहरूको ग्लोबल कोअर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ ।

टिप्पणीहरू