प्रधानमन्त्रीको नाममा ठगी धन्दा चलाउने दुई झापाली काठमाडौँमा पक्राउ

प्रधानमन्त्रीको नाममा ठगी धन्दा चलाउने दुई झापाली काठमाडौँमा पक्राउ

प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई ठगि कसुरमा पक्राउ गरेको हो । कार्यालयका एसपी रविन्‍द्र रेग्मीले उनीहरूलाई आज दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरेको जानकारी दिए ।  

प्रहरीका अनुसार उनीहरूले ४५ लाख भन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्ने उजुरी परेको छ । प्रधानमन्त्रीका सुशासन सल्लाहकार एवं अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै उनीहरुले ठगी धन्दा चलाएको आरोप छ । 

इलाका प्रहरी कार्यालय दमकमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले आज समातेको हो । थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयले उनीहरू दुवैलाई दमक पठाइसकेको छ ।

टिप्पणीहरू