काँग्रेस उपसभापतिको प्रस्ताव : सबैले दलित भान्छे राखौं

काँग्रेस उपसभापतिको प्रस्ताव : सबैले दलित भान्छे राखौं

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टी बदल्न पहिले नेता बदलिनुपर्ने टिप्पणी गरेका छन् ।

केन्द्रीय कार्यसमितिको आजको बैठकमा केन्द्रीय सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेता आफैं नबदलिएसम्म पार्टी रुपान्तरणको अभियान सफल नहुने समेत बताए । त्यसक्रममा गुरुङले आफूले मन्त्री भएपछि दलितलाई भान्छे राखेर परिवर्तन आफैंबाट गर्नुपर्छ भन्ने सन्देश दिएको पनि उल्लेख गरे । 

जेठ १० गते समता दिवस मनाउने प्रस्तावमाथि टिप्पणी गर्ने क्रममा उनले एक दिन औपचारिक कार्यक्रम गरेर दिवस मनाउँदैमा पार्टी नबदलिने भन्दै व्यवहारले पुष्टि गर्नुपर्नेमा जोड दिए । ‘मन्त्री भएपछि एउटा भान्से राख्न पाइने रहेछ । अहिले मैले शंकर परियारलाई राखेको छु । यहिँबाट बदल्ने हो । त्यसैले यदि समाज बदल्नु छ पहिले आफू बदलिनुपर्यो ।’

कानुन मन्त्रीसमेत रहेका गुरुङले भने, ’लौ त काँग्रेसको सभापति, उपसभापति, महामन्त्रीहरुको किचनमा सबै दलित हातबाट पकान हुन्छ भन्ने सन्देश दिउँ त । के–के हुन्छ यहाँ ।’ त्यसो गर्न सके दलित समुदायको पार्टीप्रति आकर्षण बढ्ने बताएका उनले वचनले नभई कर्मद्वारा नै बदलिन नेताहरुलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू