चिनियाँ नेता राती वसन्तपुरमा प्रकट
अस्तिदेखि नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय पाहुना टोली दोस्रो दिन हिजो पनि राजनीतिक भेटघाटमा निकै व्यस्त रह्यो । कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत पोलिटिकल ब्यूरो सदस्य तथा चोङछिङ नगर प्रमुख युआन च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली हिजो बिहानदेखि विभिन्न कार्यक्रम र भेटघाटमा सहभागी भएको हो ।
अस्ति दिउँसो कोलम्बोबाट काठमाडौं आइपुगेको टोली राजनीतिक भेटघाटमा व्यस्त छ । हिजो बिहान कलंकीको एलआरआई स्कुलमा भाषा ल्याबको उद्घाटनपछि नेता युआनले सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको थियो ।
त्यसपछि टोलीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही,नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे,नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलसँग भेटवार्ता गरेको थियो ।
टोली आज मध्यान्ह सिचुआन प्रान्तको छन्तु हुँदै स्वदेश फर्कने कार्यक्रम छ । त्यसअघि आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट मिलाइएको छ । यही भेटघाटको निम्ति अध्यक्ष ओली हिजो राति कम्बोडियाबाट सिंगापुर हुँदै स्वदेश फर्किसक्नुभएको छ ।
चिनियाँ पाहुना टोलीले हिजो अपरान्ह भक्तपुर दरबारस्क्वायर र राति काठमाडौंको बसन्तपुर दरबार स्क्वायर अवलोकन गरेको थियो । साँझ चिनियाँ दूतावासमा विशेष कार्यक्रमको आयोजना भयो ।
टिप्पणीहरू