लैनचौरमा सार्कको प्रभावकारिता र सहकार्यबारे चर्चा
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति भवनमा भएको भेटमा उपराष्ट्रपति यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रभावकारिताका लागि सदस्य राष्ट्रहरुबीचको सहकार्य महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘शान्ति, समुन्नति र सदस्य राष्ट्रका नागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्छ । सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ ।’
उपराष्ट्रपतिले पाकिस्तानका लगानीकर्तालाई जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि नेपालले प्रोत्साहन गर्दै आएको धारणा राख्नुभएको हो ।
पाकिस्तानी राजदूत हासमीले दुई मुलुकबीच सोझो हवाई सम्पर्कको आवश्यकता देखिएको उल्लेख गर्दै पाकिस्तान सरकारले उपलब्ध गराइरहेको छात्रवृत्तिको संख्या बढाउने तयारी गरेको जानकारी दिनुभएको हो ।
टिप्पणीहरू