लाहुरेनीले श्रीमान्लाई यस्तरी लघारिन्

लाहुरेनीले श्रीमान्लाई यस्तरी लघारिन्

कुनै–कुनै सत्य घटना एकादेशको मिथकजस्तै हुन्छ । खोटाङ साकेला गाउँपालिका–२ स्थायी घर भई हाल बेलायतको केन्टवरी बस्ने अवकाशप्राप्त सेना राजेन्द्र राईको जीवनमा भयो त्यस्तै । एक वर्षअघि बेलायतको आफ्नो निवासमा नेपालबाट श्रीमती जयन्ती राई फर्किने बाटो हेरेर बसेका थिए । उनी आफ्नो नामको जग्गा बिक्रीका लागि वारेशनामा लिएर जयन्ती नेपाल गएकी थिइन् । 

नेपालबाट आएको पैसाले बेलायतमै केही उद्यम गर्ने घर सल्लाहपछि जयन्ती नेपाल गएकी हुन् । करिब चार महिनापछि जयन्ती बेलायत त फर्किइन् । तर, साथमा थिए १६ बर्ष कान्छा बागलुङको गलकोट नगरपालिका–६ (साबिक हरिचौर–९) निवासी जगतबहादुर बुढाथोकी । ४४ वर्षीय जयन्तीले दोस्रो श्रीमान्को रूपमा बुढाथोकीलाई बेलायत लगेकी हुन् । लाहुरे राजेन्द्रले श्रीमतीलाई असाध्यै माया गर्थे । त्यही कारण बेलायतको घर पनि उनैको नाममा किनेका थिए । जयन्तीले निर्ममतासाथ श्रीमान्लाई घर छाड्न आदेश दिइन् । 

आफ्नो पसिनाले बनाएको घर छाड्दै गर्दा राजेन्द्रले एउटा सम्झौता गरेका थिए, ‘नेपालमा रहेको जग्गा बिक्रीको पैसाचाहिँ आफूले पाउने ।’ मोरङको केराबारीस्थित १० करोड रुपैयाँ बराबरको ५ बिघा जग्गा राजेन्द्रको नाममा थियो । त्यो जग्गा सीता राई चौधरीको वारिसनामा बनाएर जयन्तीले बिक्री गरेकी हुन् । 

मोरङ र काठमाडौंको गरी करिब १८ करोड बराबरको सम्पत्ति जयन्तीले कब्जा गरी दोस्रो श्रीमान्सँग बिहे गरेपछि लाहुरे अहिले घर न घाटको भएका छन् । राजेन्द्रले अहिले जयन्ती र उनको दोस्रो श्रीमान्लाई ठगी र विश्वासघातमा मुद्दा हालेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले गत ४ साउन २०८० मा पक्राउ गरी ठगी र विश्वासघातमा मुद्दा चलाउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ । 
 

टिप्पणीहरू