मणिपुरमा हिंसा चर्कियो, स्थानीयले मोर्टार प्रहार गर्न थाले

मणिपुरमा हिंसा चर्कियो, स्थानीयले मोर्टार प्रहार गर्न थाले

अघिल्लो साता दुई कुकी महिलालाई ‘नग्न बनाएर हिँडाएको’ भिडियो भाइरल भएपछि भारतीय राज्य मणिपुरको थोरबुङमा पुनः हिंसा भड्किएको छ । 

मैतेई र कुकी समुदायबीच द्वन्द्व थप चर्किंदै जाँदा थोरबुङमा लगातार गोलाबारी भइरहेको छ । हिंसाग्रस्त मणिपुरमा गोलाबारी मात्र होइन, ‘मोर्टार हमला’ पनि भइरहेको अधिकारीहरूले जनाएका छन् । 

पछिल्लो छ दिनदेखि मणिपुरको काङ्वे गाउँमा मैतेई र कुकीबीच गोली हानाहान भइरहेको स्थानीयरूले बताएका छन् । ‘म घर छाडेर छेउतिरको शरणार्थी शिविरमा सरेको छु । असम राइफल्सको क्याम्प मेरो घरबाट ३०–३५ मिटर मात्र टाढा छ । तर, हिजो राती कुकी जातिले चर्को गोलाबारी गरे । मेरो घरमा छापा मारिएको छ । घरको भित्तामा गोलीका निशान छन्,’ राहत शिविरका पीडितले भने ।

मणिपुरको शरणार्थी शिविर होस् या राहत शिविरमा त्यहाँपनि डर कायमै छ, लगातार बमबारी भइरहेको छ । टिनका छाना गोलीले च्यातिँदै छन् । सडकमा सयौं गोलीका छर्राहरू छरिएका छन् । मानिसहरू भाग्दै हिँडिरहेका छन् । मैतेई र कुकीहरू डरै–डरमा बाँचिरहेका छन्, एकले–अर्कालाई भेटेपछि मारिदिन्छन् भन्ने भय छ । 

थोरबुङको पुओगाकचाओ इखाई गाउँमा बुधबार रातभर लडाइँ चल्यो, यो मैतेई बाहुल्य गाउँ हो । भिडन्तपछि मैतेईहरू घर छाडेर भागेका छन् ।

‘पछिल्लो छ दिनदेखि हामी सुत्न सकेका छैनौँ । कसरी सुत्ने होला, कुकीहरूले घरमा गोली हान्छन्, हाम्रो गाउँमा मोर्टार प्रहार भइरहेको छ । मेरो गाउँको एउटा केटा मरे,’ गाउँकी मुखिया चम्खन्नबी भन्छिन् ।

टिप्पणीहरू