प्रधानमन्त्री चीन जाने मिति अझै अनिर्णित

प्रधानमन्त्री चीन जाने मिति अझै अनिर्णित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आगामी चीन भ्रमणको मिति अझै तय भएको छैन । परराष्ट्रमन्त्री एनपी साउदले असोजको पहिलो साता वा त्यो पनि नभए तेस्रो साता प्रधानमन्त्री चीन भ्रमणमा जाने बताउनुभएको छ । 

उहाँले आज त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा आयोजित प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भका क्रममा उक्त जानकारी दिनुभएको हो । मन्त्री साउदले भन्नुभयो,‘सेप्टेम्बरको तेस्रो वा चौथो साता प्रधानमन्त्रीले चीन भ्रमण गर्नुहुने छ ।’

प्रधानमन्त्री असोज पहिलो साता अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने तयारी पनि भइरहेको बुझिएको छ ।

सोही कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण फलदायी भएको दाबी गर्नुभएको छ । त्यस अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाई छ ।

एमाले अध्यक्ष तथा प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले हिजो राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै उपलब्धि हासिल नभएको आरोप लगाउनुभएको थियो ।
 

टिप्पणीहरू