विदेशमा खटिने सैनिक सहचारीहरु फेरिए

विदेशमा खटिने सैनिक सहचारीहरु फेरिए
सुन्नुहोस्

नेपाली सेनाले विभिन्न राष्ट्रमा रहने सैनिक सहचारीहरुको फेरबदल गरेको छ । सेनाको सिफारिस र क्याबिनेटको साउन १६ गतेको निर्णयानुसार अमेरिका, बेलायत,चीन, भारतलगायत मुलुकका राजदूतावासमा पठाउने सैनिक अधिकारीहरुको चयन भएको हो ।

जसअनुसार नीति तथा योजना निर्देशनालयका महासेनानी पूर्णप्रसाद ढकाललाई अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीस्थित नेपाली राजदूतावासमा सैनिक सहचारीको जिम्मेवारी दिइएको छ । उनलाई क्यानाडाको समेत कार्य हेर्ने भनिएको छ ।

त्यस्तै बंगलादेशमा वीरेन्द्र अस्पतालमा कार्यरत अञ्जनकेशर खत्रीलाई सैनिक सहचारीको रुपमा कार्यरत रहन भनिएको छ । बेलायतस्थित नेपाली दूतावासको सैनिक सहचारीमा सैनिक इन्टेलिजेन्स निर्देशनालयका महासेनानी अनुप शाहलाई खटाइएको छ । उनले फ्रान्सको समेत जिम्मेवारी हेर्नेछन् । 

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सैनिक सहचारीको रुपमा महासेनानी प्रकाश लामिछाने खटिने भएका छन् । लामिछाने युद्धकार्य निर्देशनालयमा कार्यरत थिए । उनले श्रीलंका र माल्दिभ्सको समेत कार्य हेर्नेछन् ।

पाकिस्तानमा महासेनानी भेषबहादुर केसीलाई सैनिक सहचारी तोकिएको छ । उनी शिकायत जाँच महाशाखामा कार्यरत थिए । उत्तरी छिमेकी चीनमा महासेनानी जयन्द्र केसीलाई जिम्मेवारी दिइएको छ । केसी प्रबन्धरथी विभागमा रहेर सैनिक कमाण्ड तथा स्टाफ कलेजमा काजमा कार्यरत थिए ।

उनीहरुले साउन ३० गतेभित्र सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) मा प्रतिवेदन बुझाएपछि सम्बन्धित नियोगमा खटिने व्यवस्थाको लागि निर्देशनसमेत दिइएको छ ।

टिप्पणीहरू