दिउँसो संसद खोल्न तयार भएको एमालेले साँझ मानेन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध जारी राखेको छ । एमालेको अवरोधपछि आज बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरि बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणको उच्चस्तरीय संसदीय छानविन समितिमार्फत टुंगो लगाउनुपर्ने माग राखेर लामो समयदेखि संसद अवरुद्ध पार्दै आएको एमालेले आज बैठक सुचारु गर्न दिने सहमति गरेको थियो । सहमतिअनुसार विशेष समयमा सांसदहरुले प्रश्न सोध्ने र गृहमन्त्रीले जवाफ दिने कार्यसूची तय भयो ।
तर, सरकार समिति गठनका लागि सकारात्मक नभएको र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्तबुझ्दो नरहेको जनाउँदै एमालेले बैठक अगाडि बढाउन दिएन । गृहमन्त्रीको जवाफलगत्तै एमालेका सांसदहरु कुर्सीबाट उठेर नारावाजी गर्न थाले । त्यसपछि सभामुखबाट समय लिएर बोलेका सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानविन समिति गठन गर्न सरकारको प्रतिवद्धता नआएको भन्दै सदन चलन नदिने अडान राखे ।
त्यसपछि सभामुख देवराज घिमिरेले बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
यसअघि विशेष समयमा बोलेका विभिन्न दलका नेताहरुले लगातारको संसद अवरोधले जनतामा नकारात्मक संदेश गएको भन्दै एमालेलाई त्यसो नगर्न आग्रह गरेका थिए ।
टिप्पणीहरू