हिजो साँझ चित्त नबुझाएको एमालेले आज दिउँसो के गर्ला ?

हिजो साँझ चित्त नबुझाएको एमालेले आज दिउँसो के गर्ला ?

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज डाकिएको बैठक अघि बढ्ने वा नबढ्ने भन्ने विषय एमालेको निर्णयमा भर पर्ने देखिन्छ ।

हिजो साँझ बसेको बैठक एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । प्रमुख विपक्षी दल एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै आएको छ । हिजो दिउँसो बालुवाटारमा भएको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा संसद खुलाउन सहमत भएको एमालेले साँझ गृहमन्त्रीले संसदमा आफ्ना धारणा राखेपछि पूर्ववत रुपमा बैठक अवरुध्द गरेको थियो ।

त्यसपछि सभामुख घिमिरेले आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । स्रोतले एमाले आज पनि सदन अवरुध्द गर्ने पक्षमा रहेको बताएको छ । 

यता संसद सचिवालयले आजको बैठकमा १० पटक वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेश गरिने जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले बैठकमा गराउनुहुनेलगायत विषय आजको कार्यसूचीमा उल्लेख छ ।
 

टिप्पणीहरू