आयल निगमका हाकिम फरार, पेट्रोलियम पदार्थ चोरहरु खोज्दै अख्तियार
-यदुनाथ बञ्जारा
नेपाल आयल निगमको गण्डकी प्रदेश कार्यालयको डिपोबाट डिजेल चोरी भएको छ । चोरीको डिजेल बिक्रीका लागि लैजाँदै गरेको ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले ट्याङ्कर नियन्त्रणमा लिएर थप अनुसन्धानको निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको बताइएको छ । निगमको डिपोबाट डिजेल लोड गरेर पश्चिमाञ्चल ट्रेडर्स (पेट्रोल पम्प) तालचोकमा लैजाँदै गरेको ग.२ ख ८३६ नम्बरको ट्याङ्करलाई विशेष सुराकीको आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिइएको हो ।
प्रारम्भिक छानबिनले इन्धन चोरीमा संलग्न भएको भेटिएपछि कास्की प्रशासनले नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाहीका लागि अख्तियारलाई पत्राचार गरेको छ । गत बिहीबार निगमको गगनगौंडा डिपोले उक्त ट्याङ्करमा १२ हजार लिटर डिजेल हालिएको बिल जारी गरेको थियो । तर ट्याङ्करमा १५ हजार एक सय लिटर डिजेल भेटिएपछि कारबाही सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
बिलमा कम परिमाण तर ट्याङ्करमा धेरै इन्धन राखेको सूचनापछि कारबाही अघि बढाइएको प्रशासन कार्यालय स्रोतले बताएको छ । डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्ने जिम्मेवारी कार्यालयका अपरेसन इञ्चार्ज परशुराम अधिकारीलाई दिइएको छ । तर डिपो प्रमुख दास स्वयम् उक्त कार्यमा खटिएको र चलानी आफैँले बनाएको निगमका कर्मचारीहरु बताउँछन् ।
प्रमुख दासको कामकारबाहीप्रति आशंका गरिएपनि उनीहरु मौन बस्दै आएका थिए । यता, डिजेल चोरी काण्ड बाहिरिएपछि दास कार्यकक्षमा ताल्चा लागाएर फरार भएका छन् ।
चोरीमा पम्पका निजी ट्याङ्करको प्रयोग
निगम डिपो प्रमुख दासले डिजेल चोरी काण्डमा पम्प सञ्चालकसँगको मिलेमतोमा उक्त हर्कत गरेका हुन् । निजी ट्याङ्कर भएका पम्पवालाहरु दासको मतियार बनेको बताइन्छ । त्यस्ता पम्पले डिपो प्रमुखसँगको मिलेमतोमा हरहिसाबा मिलाउने गरेका छन् ।
पछिल्लो पटक पक्राउ गरिएको ट्याङ्कर पश्चिममाञ्चल ट्रेडर्सको आफ्नै रहेको खुलेको छ । १२ हजार लिटर क्षमताको उक्त ट्याङ्करमा भेपर स्पेसमा (हावा खेल्ने ठाउँ) समेत नछाडि डिजेल लोड गरिएको पाइएको छ । त्यसोगर्दा तोकिएको क्षमताभन्दा तीन हजार लिटर बढी अटाएको हो ।
यसरी पेट्रोलिय पदार्थ ओसारपसार गर्नु प्राविधिक रुपमा निकै जोखिमपूर्ण कार्य भएको विज्ञहरु बताउँछन् । उक्त डिजेल चोरी काण्डमा संलग्न मतियार पम्पका मालिक बाबुराम जमरकटेल लेखनाथ उद्योग वाणिज्य संमा दुई पटक अध्यक्ष बनिसकेका छन् ।
पश्चिमाञ्चल क्षेत्रका विभिन्न पेट्रोल पम्पमध्ये १३ वटाका मात्र निजी ढुवानी ट्याङ्कर छन् । टेयाङ्कर भएका पेट्रोल पम्पहरुमा न्यु धौलागिरी आयल स्टोर्स, बागलुङ, कालीगण्डकी आयल, बेनी म्यादी, कृष्ण गण्डकी ट्रेडर्स, पर्वत कुश्मा, थापा आयल स्टोर्स, हेम्जा कास्की, लान्द्रुक आयल हरिचोक पोखरा र उत्तम आयल स्टोर्स विन्ध्यवासिनी छन् ।
त्यसैगरी नेपाल पेट्रोलियम स्याङ्जा, न्यु सिद्धार्थ आयल स्टोर्स, नाउडाडा स्याङ्जा, बी.एस. आयल डिस्ट्रिब्युटर छोरेपाटन, रानीपौवा आयल पोखरा कास्की, पश्चिमाञ्चल ट्रेडर्स, तालचोक, पोखरा, वेलकम ट्रेडर्स (पञ्चरत्न आयल) पृथ्वीचोक, बराल आयल डिस्ट्रिब्युटर मासबार कास्की हुन् ।
भर्खरै फेला परेको चोरी कान्ड यिनै मध्यको पश्चिमान्चल ट्रेडर्स तालचोकको रहेको पुष्टि भैसकेको छ । गगनगौडा डिपो प्रमुख दाशले निजी पम्पहरुले आफ्नै ट्याङ्करबाट पेट्रोलियम पदार्थको ढुवानी गर्दा अनियमितताको गन्ध आउने आशंकालाई डिजेल चोरी काण्डले पुष्टि गरेको छ । चोरीमा अन्य व्यक्तिको संलग्नताबारे आवश्यक छानबिनपछि पत्ता लाग्ने बताइन्छ ।
टिप्पणीहरू