सातौं एक्सपो युन्नानको आर्थिक तथा व्यापारिक सहयोगमा महत्वपूर्ण झ्याल (फोटो फिचर)

सातौं एक्सपो युन्नानको आर्थिक तथा व्यापारिक सहयोगमा महत्वपूर्ण झ्याल (फोटो फिचर)
सुन्नुहोस्

चीनको युन्नान प्रान्तको राजधानी खुनमिङमा सातौं चीन–दक्षिण एसिया एक्सपो र २७ औं खुनमिङ आयात तथा निर्यात मेला हिजोदेखि प्रारम्भ भएको छ । मेलामा दक्षिण एसियाली मुलुक र चिनियाँ व्यवसायीहरुको बाक्लो उपस्थिति छ ।

चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा उद्घाटित एक्सपोमा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव, शिक्षामन्त्री अशोक राईलगायत धेरै सरकारी अधिकारीहरु, व्यवसायी, सञ्चारकर्मीको सहभागिता देखिन्छ । 

एक्सपोमा नेपाली व्यवसायीहरुको तर्फबाट ९६ वटा स्टल राखिएको छ । ऐक्यबद्धता, सहयोग र साझा विकास नारा दिइएको यस पटकको एक्सपो चिनियाँ वाणिज्य मन्त्रालय, युन्नान प्रान्तीय सरकारको संयुक्त आयोजनामा भएको हो । आगामी आइतबारसम्म हुने मेलामा अधिकांश दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली मुलुकको सहभागिता छ ।

एक्सपोलाई चीन र दक्षिण एसियाली मुलुकहरुबीच महत्वपूर्ण आर्थिक तथा व्यापार आदानप्रदानको अवसरको रुपमा लिइएको छ । मेलामा १५ वटा क्षेत्रीय पाभिलियनको व्यवस्था गरिएको छ । जसमा दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, समुद्रपार, बायोमेडिसिन तथा हेल्थलगायत पाभिलियन मुख्य हुन् ।

सोही अवसरमा खुनमिङमा चौथो चीन–दक्षिण एसिया सहयोग मञ्च, ग्रेटर मेकङ सब रिजन इकोनोमिक कोरिडरका गभर्नरहरुको फोरम २०२३, १६औं चीन–दक्षिण एसिया बिजनेस फोरम, चौथो चीन–दक्षिण एसिया प्रविधि हस्तान्तरण तथा आविश्कार सहयोग सम्मेलन, नवौं चीन–दक्षिण एसिया दक्षिणपूर्वी एसिया थिङ्क ट्याङक मञ्च, पाँचौ चीन–दक्षिण एसिया व्यावसायिक मञ्च, दोस्रो आरसीइपी इन्टरनेसनल ट्रेड एण्ड इन्भेष्टमेन्ट कोअपरेसन फोरम र नयाँ शताब्दीमा चौथो खुल्ला सीमा मञ्चलगायत विषयमा छलफल हुने कार्यक्रम राखिएको छ ।

खुनमिङमा यस प्रकारको एक्सपोको आयोजना सन् २०१३ देखि शुरु भएको हो । झण्डै एक दशकको अनुभवपछि खुनमिङ एक्सपो चीनसँग दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली मुलुकहरुबीच आर्थिक तथा प्राविधिक सहयोग आदानप्रदान गर्ने गतिलो माध्यम बनेको छ । यसका साथै छिमेकी मुुलुकहरुसँग चीनको युन्नान प्रान्तले कायम गर्ने आर्थिक तथा व्यापारिक सहयोगमा एक्सपो महत्वपूर्ण झ्यालको रुपमा स्थापित भएको बताइन्छ ।

 

टिप्पणीहरू