विपक्षी दलका ज्येष्ठ सदस्यहरु अनुपस्थितिको तयारीमा, कोशीका मुख्यमन्त्री सकसमा
एक महिनामा दुइचोटी शपथ खाएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पद जोगाउन सकस पर्ने देखिएको छ ।
प्रदेशसभामा विश्वासको मत लिने दिन भोलि नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरु बैठकमा अनुपस्थित हुने भएपछि थापा नेतृत्वको सरकार संकटमा परेको हो । काँग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जस्पाको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत पुर्याउन नदिने रणनीतिअन्तर्गत एमाले र राप्रपाले यस्तो कदम चालेको प्रष्टै बुझिन्छ ।
बाबुराम गौतमले राजीनामा दिएपछि सभामुख नभएको अवस्थामा उपसभामुख सिर्जना दनुवारले बैठक चलाउनुपर्ने हुन्छ । तर, एमालेबाट निर्वाचित उनी बैठकमा उपस्थित नहुने चर्चाका बीच प्रतिपक्षका जेष्ठ सदस्यहरु पनि बिदामा बस्ने भएपछि थापाको सरकार अप्ठेरोमा परेको हो ।
यदि एमालेले उपसभामुख दनुवार र जेष्ठ सदस्यसहित अन्य सांसद अनुपस्थित गराइदिएमा सभा सञ्चालनको जिम्मा काँग्रेसको काँधमा आउन सक्छ ।
९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ सांसद छन् । त्यो भनेको ठ्याक्कै बहुमत पुग्ने संख्या हो । यस्तो अंकगणितमा कथम्कदाचित् सत्ता पक्षका सांसदले सभा सञ्चालन गर्नुपरे थापाले विश्वासको मत पाउन सक्दैनन् ।
थापालाई विश्वासको मत पुनः नदिने रणनीतिअनुसार नै प्रतिपक्षी एमालेका आठ र राप्रपाका सबै सांसदहरुले भोलिको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रदेशसभा सचिवालयलाई गराइसकेको बताइएको छ ।
टिप्पणीहरू