सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली र उपाध्यक्षबीच घोचपेच
नेकपा एमालेको आन्तरिक विवाद सर्वदलीय बैठकमा पोखिएको छ । सुन तस्करी छानविन र अवरुद्ध संसद सुचारु गर्नेबारे छलफल गर्न आज प्रधानमन्त्री कार्यालयमा बसेको सात राजनीतिक दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङबीच घोचपेच चलेको हो ।
सोमबार बसेको सर्वदलीय बैठकले कार्यदल गठन गरी सहमतिको ड्राफ्ट गर्ने जिम्मा सुवासलाई दिएको थियो । कार्यदलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य थिए । कार्यदलले तयार पारेको सहमतिको ड्राफ्ट आजको बैठकमा पेश गरिएको थियो । त्यसैका आधारमा दुई बुँदे सहमतिमा हस्ताक्षरसमेत भएको छ ।
तर,ड्राफ्ट गर्दा पर्याप्त ध्यान नदिएको भन्दै बैठकमै ओलीले सुवाससँग आक्रोश पोखेपछि घोचपेचपूर्ण सवाल-जवाफ भएको सहभागी एक नेताले जानकारी दिए । सहमतिपत्रमा उल्लेख भाषा र शव्दप्रति चित्त नबुझाएका ओलीले सबैका सामु 'हेपेर' बोलेपछि असहज महसुस गरेका सुवासले पनि कडै जवाफ फर्काएको बताइन्छ ।
सुवासतिर हेर्दै ओलीले पहिले 'नेपाली भाषा सिकाउनुपर्ने जस्तो छ' भनेर कटाक्ष गरेका थिए । सबैका सामुन्ने अध्यक्षले त्यसो भनेपछि अपमानित महसुस गरेका सुवासले पनि 'नेपाली भाषाको ज्ञान भए आफैँ बुझ्नुपर्ने हो' भनेर प्रतिकार गरेको ती नेताले सुनाए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भने ओलीको खासै कटाक्ष भएन ।
एमालेमै आन्तरिक विवाद भए पनि बैठकले महत्वपूर्ण सहमति भने गरेको छ । सहमतिअनुसार हङकङबाट मोटरसाइकलको ब्रेक शुमा राखेर कार्गो गरी ल्याइएको ६१ किलो सुन तस्करीको छानविन गरी मुद्धा अभियोजन गर्ने जिम्मा सिआइबीले निरन्तर पाएकै छ । त्यस्तै, एमालेको मागअनुसार अहिलेसम्म भएका सबै सुन तस्करीका घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गर्न न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग बनाउन पनि दलहरु सहमत भएका छन् ।
सिआइबीले छानविन सकेर मुध्दा दर्ता गरेपछि मात्रै आयोग गठन गर्नेसमेत दलहरूवीच सहमति छ ।
सहमतिपत्रमा संसदमा उपस्थित सात राजनीतिक दलका प्रमुख सचेतकहरुले हस्ताक्षर गरेका छन् ।
टिप्पणीहरू