पाँचपोखरीको प्राकृतिक छटा (फोटो फिचर)

पाँचपोखरीको प्राकृतिक छटा (फोटो फिचर) स्रोत : फोटो लाइब्रेरी

पाँचपोखरी, प्राकृतिक छटाले भरिपूर्ण आकर्षक पैदल गन्तव्य हो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा अवस्थित पाँचपोखरीको आफ्नै साँस्कृतिक र धार्मिक मान्यता रहेको छ । 

राजधानीबाट झण्डै दुई दिनको पैदल यात्रापछि त्यहाँ पुग्न सकिन्छ । सार्वजनिक यातायातमा जाँदा बढीमा छ घण्टामा पुगिन्छ । जोरपाटीबाट बिहान जाने बस छिन्ती बजारमा मध्यान्हमा पुग्छ । त्यहाँबाट खाना खाएपछि पैदल यात्रा शुरु हुन्छ । 

हरियाली, खोला, झरना र ग्रामीण जनजीवनको अवलोकन गर्दै अघि बढ्दा जो कोही प्राकृतिक छटाबाट मन्त्रमुग्ध हुन्छ । छिम्तीबाट हुने पैदल यात्रापछि उकालोको टुप्पी डाँडा टपखर्कमा बास बस्न पुगिन्छ । टपखर्कबाट नोरसिन्गपाटी हुँदै लौरिबिनाको यात्रापछि पाँचपोखरी पुग्न सकिन्छ । 

एकै ठाँउमा पाँच पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनभरी फुलेका विभिन्न रंगका फूलले सबैको मनलाई लोभ्याउँछ । त्यहाँ हरेक वर्ष भदौ महिनामा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ । पूर्णिमाको दिन र रातको समयमा धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ । 

तामाङ समुदायको बाहुल्याता रहेको सो क्षेत्रमा स्थानीय भेषभूषा र भाषामा झाँक्री नाच हेर्न पाइन्छ । पाँचपोखरी, इन्द्रावती नदीको उद्गमस्थल पनि हो । ती पोखरीका बेग्लाबेग्लै नाम छन् । जसलाई भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड भनिन्छ । पोखरीको धार्मिक पक्ष खोतल्दै जाँदा स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन गरिएको छ । यसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) तीर्थस्थल भनिएको छ । पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमासमेत लिइन्छ ।

टिप्पणीहरू