खुल्लमखुला

खुल्लमखुला
सुन्नुहोस्

उदारवादी नेताहरूले त्यसै भनेका होइन रहेछन्, जब राजनीति खुला छ तब सबै कुरा खुला हुँदै आउँछ । उहाँहरूले जे भन्नुभएको थियो अहिले देशमा त्यस्तै भइरहेको छ । राजनीतिको खुलापन जो छ, अन्य ठाउँतिर पनि देखिँदै छ । जस्तोः अहिले कमरेड प्रचण्डको सरकारलाई हेर्नोस्, भ्रष्टाचारका फाइल धमाधम खुल्दै छन् । अस्ति नक्कली शरणार्थीको फाइल खुला गर्‍यो । त्यसपछि ललिता निवासको फाइल खुला गर्‍यो । अब गिरीबन्धु टी इस्टेटको फाइल पनि खुल्दै छ रे !

यता, काठमाडौंतिर हेर्नोस्, मेयर बालेन साह सामाखुशी खुला गर्नतिर लागिरहेका छन् । सामाखुशी कुनै बेला सिमेन्टको स्ल्याब लगाएर बन्द गरिएको थियो । अब बालेन साह स्ल्याब उखेलेर खोलालाई खुला गर्दै हुनुहुन्छ । केही समयअघि उहाँले टुकुचा खुला गर्नुभएको थियो । सक्नुभएन । त्यो नसकेपछि अब सामाखुशी खुला गर्दै हुनुहुन्छ । खुला मञ्चलाई खुला गर्ने त भनि नै सकिएको छ । ठेलागाडा हटाएर फुटपाथ खुला गरि नै सकिएको छ । 

अब हेर्दै जाऊँ, यो खुला राजनीतिमा कसले के के खुला गर्दै जाने हो ।
 

टिप्पणीहरू