अध्ययन शुल्क तीन लाखलाई आठ लाख बनाएपछि विद्यार्थीहरु आक्रोशित

अध्ययन शुल्क तीन लाखलाई आठ लाख बनाएपछि विद्यार्थीहरु आक्रोशित

उपत्यकाका स्ववियु सभापतिहरुले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ । 

आज संयुक्त विज्ञप्ति जारी गर्दै १८ जना स्ववियु सभापतिहरुले यस्तो माग गरेका हुन् । स्ववियु सभापतिहरु त्रिवि केन्द्रीय क्याम्पसका श्यामराज ओझा, पद्यकन्या क्याम्पसकी ज्योति पनेरु, शंकरदेव क्याम्पसका शुशान्त बस्नेत, पब्लिक युथ क्याम्पसका नवीन पाण्डे, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, थापाथली क्याम्पसका पुस्करविक्रम शाही, आयुर्वेद क्याम्पसका किरण लम्साल, भक्तपुर बहुमुखी क्याम्पसका पुकार पराजुलीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

यस्तै, पाटन संयुक्त क्याम्पसका सुशिल विष्ट, कोटेश्वर बहुमुखी क्याम्पसका सञ्जय बुढाथोकी, कैलाशकुट बहुमुखी क्याम्पसका मुरारी गौतम (सुवर्ण), काठमाडौ इञ्जिनियरिङ क्याम्पसका सिजन अधिकारी, एडभान्स इञ्जिनियरिङ क्याम्पसका सुभास सुवेदी, कान्तिपुर इञ्जिनियरिङ क्याम्पसका अभिषेक पाण्डे, कान्तिपुर क्याम्पसका कुशल फुयाल, जनकपुर इञ्जिनियरिङ क्याम्पसका सुनिल शाह, महालक्ष्मी क्याम्पसका रणबहादुर बोहरा र भ्याली कलेज अफ हेल्थ एण्ड टेक्निकल साइन्सका सुरेन्द्र भण्डारीको पनि संयुक्त विज्ञप्तिमा हस्ताक्षर छ ।

उनीहरुले इञ्जिनियर बन्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीहरुले पढ्ने परिकल्पना समेत गर्न नसक्ने गरी शुल्कवृद्धि गरेको उल्लेख गर्दै संस्थान आर्थिक चलखेलको दाउमा लाग्नु दुर्भाग्य भएको बताएका छन् । 

‘त्रिवि ऐन, २०४९, परिच्छेद ८३ को नियम ५३ ‘ग’ मा विद्यार्थी हितसँग सम्बन्धित कुनै पनि समिति गठन गर्दा स्ववियु सभापति वा निजले तोकेको सदस्यले प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रावधान रहेतापनि संस्थानले विद्यार्थी प्रतिनिधिलाई सहभागी नै नगराई शुल्कवृद्धि गर्दै त्रिवि ऐनको समेत उंल्लघन गर्नुले विश्वविद्यालयभित्र शैक्षिक माफियातन्त्र हावि भएको प्रमाणित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उक्त अस्वाभाविक शुल्कवृद्धि फिर्ताको माग राख्दै नेविसंघ पुल्चोक इञ्जिनियरिङ क्याम्पस एकाई सभापति शुलभ चापागाई भदौ ४ गतेदेखि आमरण अनसनमा बसेको स्मरण गराइएको छ । अन्यथा, सबै क्याम्पस तथा कलेजबाट सिर्जना हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयंम सम्बन्धित पक्ष हुने चेतावनी दिइएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ४ गतेदेखि इञ्जिनियरिङतर्फ स्नातक तहका लागि शुल्कवृद्धि गरेको जानकारी दिएको थियो । जसअनुसार विद्यमान तीन लाख १३ हजार रुपैयाँ शुल्क वृद्धि गरेर सात लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याइएको छ ।
 

टिप्पणीहरू