इञ्जिनियरिङ अध्ययन संस्थानको ढोका बन्द

इञ्जिनियरिङ अध्ययन संस्थानको ढोका बन्द

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको शुल्कको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित भएको छ ।

इञ्जिनियरिङ अध्ययनको शुल्कवृद्धिको विरोधमा अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले त्यहाँका पदाधिकारीहरुलाई कार्यकक्ष प्रवेशमा रोक लगाएको छ । शुल्क फिर्ताको माग राख्दै अनेरास्ववियुले आजदेखि ‘त्रि.वि.ई.अ.सं. ले बढाएको शुल्कवृद्धिविरुद्ध त्रि.वि. पदाधिकारीहरुलाई कार्यकक्षमा प्रवेश निषेध कार्यक्रम’ थालेको हो । 

उनीहरुले संस्थानले बढाएको शुल्कवृद्धि पूर्ण रुपमा खारेज गर्न, सातै प्रदेशमा इञ्जिनियरिङ आंगिक क्याम्पस स्थापना गर्न, प्रधानमन्त्री र शिक्षामन्त्री त्रिविको कुलपति र सहकुलपति हुने व्यवस्था खारेज गर्न, त्रिवि पदाधिकारीको नियुक्तिका लागि बोर्ड अफ ट्रष्टी गठन गर्न माग गरेका छन् । 

संस्थानले इञ्जिनियरिङ अध्ययनको पूर्ण शुल्क सात लाख ७५ हजार बनाउने निर्णय गरेपछि विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका थिए । अस्ति त्रिविका पदाधिकारी र विद्यार्थी संगठनबीच शुल्कको विषयलाई लिएर पाँच बुँदे सहमति भएको छ । 

हाल वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने, विद्यार्थी प्रतिनिधिसहितको गठन हुने समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्रतिवेदनले दिएको सुझावको आधारमा कायम हुने शुल्क लागु गर्न सबै सहमति हुनेलगायतको विषयमा लिखित सम्झौता भएको थियो । यद्यपि, अनेरास्ववियुले सो सहमतिविरुद्ध निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।
 

टिप्पणीहरू