बाहिर ‘हरि’, भित्रभित्रै ‘राधा’

बाहिर ‘हरि’, भित्रभित्रै ‘राधा’
सुन्नुहोस्

बुटवलमा प्युठानी नेता–कार्यकर्ताको जमघटपछि एमाले केन्द्रीय सदस्य हरि रिजालले विद्यार्थी नेता विनोद भण्डारीलाई छेउतिर राखेर भने, ‘मलाई त्यो केटाको कुनै भर छैन । हाम्रो सामुन्ने आएर चिल्लो कुरा गर्छ, उता गएपछि हराउन लाग्छ । मलाई त्यसको भर छैन । ’

एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष बन्न कस्सिएका रिजालले हिजो प्युठानीहरुको सामुन्ने त्यसो भनिरहँदा बाँकी कार्यकर्ता ‘हो–मा हो’ थप्दै थिए । त्यसो त हरि पुनः एकपटक तर्सिएका छन् । उनलाई बुटवलमा तर्साइरहेका भनिएका पात्र हुन् एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा ।

हरि र सूर्य दुबै प्युठानी हुन् । एमाले वृत्तमा रिजाल सूर्यका दाइको रुपमा परिचित छन् । राजनीतिक रुपमा चातुर्य सूर्य वर्षौंपछि जिल्ला फर्के पनि बिस्तारै उँभो लागेका र ‘हरि दाइ’ ओरालो लागेको कमरेडहरुबीच चर्चा हुने गरेको छ । 

उनै हरि महासचिव शंकर पोखरेलको गुटको प्रतिनिधित्व गर्दै प्रदेश अध्यक्षका आकांक्षी देखिएका छन् । सके सर्वसम्मत, नभए मतदानबाट भएपनि अध्यक्ष जिताउने दाबी उक्त गुटको छ । उनलाई जिताउन पोखरेल निकट भनेर चिनिएका नेताहरू बलराम अधिकारी, विमला घिमिरे, भूमिश्वर ढकाल, कुमार दसौदी, तेजेन्द्र केसी, शिव सुवेदी, टीकाराम खड्का, नरुलाल चौधरीको विशेष सक्रियता देखिएको बताइन्छ । 

तर, जिल्लावासी नेता एवम् सभासद् थापाले भने आवरणमा मात्र रिजाललाई अध्यक्ष बनाउनुपर्ने धारणा राखेको उल्लेख गर्दै उनको भित्री चाहना अर्कै रहेको प्युठानका एकथरी एमाले नेता तथा कार्यकर्ताको पाइन्छ । ‘सूर्यजी हरि दाइलाई जिताउन लाग्दैनन्, उनी राजनीतिक खेलाडी भइसकेका छन् । त्यसमा पनि हरि दाइ र सूर्यजीको सम्बन्ध चुनावपछि साखै राम्रो छैन ।’ एमाले प्युठान जिल्ला कमिटीका एक जना सदस्यले भने ।


गत आमनिर्वाचनमा सूर्य थापा प्रतिनिधिसभा र हरि रिजाल प्रदेशसभामा चुनावी प्रतिस्पर्धामा थिए । तर सूर्यले जिते, हरिले हारे । ‘त्यो चुनाव हरि रिजालले हारेका होइनन्, थापा कमरेडले हराएका हुन् । गोविन्द पोखरेलसँगको साँठगाँठले काम गरेको हो,’ एमाले निकट प्युठानका एक पत्रकारको बुझाइ छ ।

थापा अर्का अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेलको सम्पर्कमा छन् । राधाकृष्ण भने एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट अध्यक्ष हुन् । एमाले प्रदेश अध्यक्षको हैसियत पोलिटब्यूरो सदस्य सरह हो । सूर्यपनि पोलिटब्यूरो सदस्य हुन् । उनी राधाकृष्णलाई अध्यक्ष मान्न तयार भए पनि हरिको सम्बन्धमा फरक धारणा रहेको बताइन्छ ।

‘सूर्य कमरेड बुटवल आएदेखि खिमलाल भट्टराई, लिला गिरी, आरके दाइ, प्रदीप आचार्यसँगै हुनुहुन्छ । उहाँ आरके दाइको पक्षमा लाग्नुपर्दैन, चुप बसिदिएपनि पुग्छ,’ एमाले बुटवलका नेताहरुको विश्लेषण हो यो ।

टिप्पणीहरू