भारतीय दूतावासको चिठी,उपप्रधानमन्त्रीको उपस्थिति

भारतीय दूतावासको चिठी,उपप्रधानमन्त्रीको उपस्थिति
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सद्गुरुको स्वागत गर्न हिजो अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो । सद्गुरुको स्वागतमा उपप्रधानमन्त्रीसँगै एक हुल समर्थक विमानस्थलको आगमन कक्षमै पुगेका थिए । तीन सय जना हाराहारीको समूह भने उनलाई स्वागत गर्न आगमन कक्ष बाहिरसमेत गएको देखिन्थ्यो । 

इशा फाउण्डेसनका संस्थापक जग्गा वासुदेव लेखक हुन् । उनलाई पछि मात्र सद्गुरु भन्न थालियो । उनी हिजो बेलुकी पौने ७ बजे नयाँ दिल्लीबाट काठमाडौं आएका थिए ।

यति एअरलाइन्सको चार्टर उडानमा आएका वासुदेव विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिकाज गए । उनी आगामी असोज ४ गतेसम्म नेपालमा बस्ने कार्यक्रम छ । गुरुदेवको आज जन्मदिन हो । 

उनै सद्गुरुलाई स्वागत र सुरक्षा प्रदान गर्न काठमाडौंस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई भदौ १० गते कूटनीतिक नोट लेखेको थियो । सोही नोटलाई उल्लेख गर्दै परराष्ट्रले गृह मन्त्रालयलाई अस्तिको मितिमा लिखित जानकारी गराएको छ । जसको बोधार्थ तथा कार्यार्थ प्रहरी प्रधान कार्यालयलाई दिइएको छ ।

विमानस्थलमा सद्गुरुको स्वागतको निम्ति उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ,उहाँका निकटस्थ व्यक्ति र समर्थकहरु पुगेका थिए ।

वासुदेवको इशा फाउण्डेसनले भारत, बेलायत,अमेरिका, सिंगापुर,अष्ट्रेलिया, लेबनानलगायत मुलुकमा विशेषतः योगाको बारेमा जानकारी दिने गरेको छ । उनी भारतको मैसुरमा जन्मेका हुन् ।

 

टिप्पणीहरू