नागरिकता प्रमाणपत्र सिफारिसमा आमाको नाम अनिवार्य

नागरिकता प्रमाणपत्र सिफारिसमा आमाको नाम अनिवार्य

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले नागरिकता प्रमाणपत्र सिफारिस गर्दा आमाको नाम अनिवार्य रुपमा उल्लेख गर्न निर्देशन दिएको छ । 

नेपाल नागरिक ऐन, २०६३ र नेपाल नागरिकता नियमावली, २०६३ बमोजिम वडा कार्यालयले नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस गर्ने क्रममा नागरिकता प्राप्त गर्ने व्यक्तिको मातृत्व र पितृत्वको पहिचान स्पष्ट हुँदाहुँदै पनि कतिपय व्यक्तिको नागरिकता प्रमाणपत्रको सिफारिसमा आमाको नामको महलमा नाम उल्लेख नगरी नागरिकता प्रमाणपत्र सिफारिस गरिएको भन्दै यस्तो निर्देशन दिइएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले आज मातहतका स्थानीय तहलाई परिपत्र गर्दै आमाको नाम उल्लेख नगरी जारी भएको नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले आमाको नाम कायम गरी प्रतिलिपि लिनुपर्दा थप झन्झट उत्पन्न भएको उल्लेख छ । त्यसैले आमाको नाम लेखेर मात्र नागरिकता प्रमाणपत्र सिफारिस गर्न भनिएको हो ।

परिपत्रमा भनिएको छ, ‘जिल्लास्थित सबै वडा कार्यालयले नागरिकता प्रमाणपत्रको अनुसूची निवेदन भर्दा मातृत्व र पितृत्व पहिचान भएका व्यक्तिहरुको हकमा आवश्यक सम्पूर्ण विवरणसहित अनिवार्य रुपमा आमाको नाम उल्लेख गरी सोहीबमोजिम आवश्यक प्रमाण कागजात राखेर नागरिकता प्रमाणपत्र सिफारिस गर्न अनुरोध छ ।’
 

टिप्पणीहरू