बुटवलमा एमालेभित्र गुटबन्दी मौलाएको प्रमाणित
एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ । चुनावी प्रक्रियासँगै महासचिव शंकर पोखरेल समूहले आफूनिकट उम्मेदवारको सूची नै बनाएर प्रतिनिधिहरुलाई बाँडेको पाइएको छ ।
उता उपाध्यक्ष विष्णु पौडेल निकट नेताहरुले महासचिव निकट समूहले आचारसंहिता उल्लंघन गरेको भन्दै औपचारिक रुपमा आपत्ति जनाएका छन् । उनीहरुले अधिवेशनमा प्रतिस्पर्धा गर्न पाइने तर गुटगत प्रचार गर्न नहुने भन्ने अध्यक्ष ओलीको यसअघिको निर्देशनरुपी आचारसंहितासमेत महासचिव पोखरेल समूहले उहाँकै आड भरोसामा उल्लंघन गरेको दाबी बताएका छन् ।
पोखरेल समूहले प्रदेश अध्यक्षदेखि लेखा समिति,अनुशासन समिति सबै पदमा प्यानलगत रुपमै उम्मेदवारी दिएको प्रमाणस्वरुप प्रतिनिधिहरुलाई बाँडिएको सूची फेला परेको छ ।
‘पोखरेलनिकट नेताहरुले सूची व्यापक रुपमा बाँडेका छन् । हामीले यसबारे केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराएका छौं । तर, कुनै वास्ता गरिएको छैन,’ पौडेल निकट एक जना नेताले बताए, ‘अध्यक्ष ओलीले नै गुटबन्दीलाई प्रश्रय दिनुभएको अर्थ लागेको छ ।’
टिप्पणीहरू