पार्टीको कार्यक्रममा जाने शिक्षकलाई गण्डकीले कारवाही गर्ने

पार्टीको कार्यक्रममा जाने शिक्षकलाई गण्डकीले कारवाही गर्ने

गोरखाको गण्डकी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । 

शिक्षकहरु राजनीतिक क्रियाकलापमा सहभागी भएको गुनासो बढेपछि गाउँपालिकाले सचेत गराएको हो । निर्देशन अटेर गरिए त्यस्ता शिक्षकमाथि कारवाही हुने पनि गाउँपालिकाको चेतावनी छ । 

शिक्षा नियमावली २०५९ तथा निजामती सेवा नियमावली २०५० मा निजामती कर्मचारीहरु कुनै पनि प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ । राजनीतिक पार्टीको सदस्यता लिएमा वा कुनै कार्यक्रममा सहभागी भएमा विभागीय कारबाही गरिने भनि नियमावलीमा स्पष्ट उल्लेख छ । त्यस्तै, विद्यालयलाई आयोजनास्थल बनाएर कुनै कार्यक्रम गर्न पनि पाइँदैन् । 

गाउँपालिकाले शिक्षकहरुलाई आफ्नो पेशाप्रति संवेदनशील बनिदिन आग्रह गरेको छ । त्यसैगरी, शिक्षकहरुलाई पार्टीको सदस्य नबनाउन भनि गाउँपालिकाले जिल्लामा क्रियाशील राजनीतिक दलहरुलाई समेत अनुरोध गरेको छ । 

‘विद्यालय तथा विद्यार्थीहरुलाई राजनीतिक कार्यक्रमबाट शैक्षिक गुणस्तरमा पर्न सक्ने प्रभावको बारेमा संवेदनशील भइदिनुहुन यस कार्यालय सम्पूर्ण क्रियाशील राजनीतिक दलहरुलाई अनुरोध गर्दछ भने गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षकहरुलाई कुनै पनि राजनीतिक कार्यक्रमहरुमा सहभागी नहुनुहुन सूचना गर्दछ तथा सोको प्रमाणसहित यस कार्यालयमा पेश हुन आएमा प्रचलित कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्ने’, विज्ञप्तिमा उल्लेख छ । 

साथै, गाउँपालिकाले विद्यालयमा राजनीतिक कार्यक्रमहरु नगर्न पनि सचेत गराएको छ । विद्यालयमा त्यस्ता कार्यक्रमको आयोजना भएको पाइएमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर्ने जनाइएको छ ।

टिप्पणीहरू