गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसी युवा सडकमा छपक्कै

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसी युवा सडकमा छपक्कै
सुन्नुहोस्

मातृ पार्टी कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी हानिएको घटनामा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गर्दै तरुण दलका कार्यकर्ता सडकमा ओर्लिएका छन् । गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलका कार्यकर्ताले आज काठमाडौँमा विरोध र्याली गरेका हुन् । 

रत्नपार्कस्थित शान्तिबाटीकाबाट शुरु भएको र्याली बागबजार, पुतलीसडक, भद्रकाली, शहीदगेट, सुन्धारा, वीर हस्पिटल हुँदै पुन: रत्नपार्क पुगेर कोणसभा गर्ने तयारी छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा निस्किएको र्यालीका सहभागीहरुले गृहमन्त्री श्रेष्ठविरुद्ध चर्को  नाराबाजी गरेका छन् ।   ।  

तरुण दलका पूर्वअध्यक्षसमेत रहेका यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही गर्न तरुण दलले माग गरेको छ । घटनाको विरोधमा नेविसंघका कार्यकर्ताले पनि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।    

सामाजिक अभियन्ता दावी गर्ने एकजना राजावादीले बुधबार भृकुटीमण्डपमा यादवलाई खुकुरी हानेका थिए । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने यादवको उपचार भैरहेको छ । 

नक्कली भुटानी शरणार्थी काण्डमा तरुण दलका अर्का पूर्वनेता बालकृष्ण खाँणलाई योजनावद्ध ढंगले फसाएको दावी गर्दै आएका काँग्रेसका युवाहरु गृहमन्त्री श्रेष्ठसँग पहिलेदेखि नै असन्तुष्ट छन् ।
 

टिप्पणीहरू