पारशसामु कमल प्रकट

पारशसामु कमल प्रकट

‘भूल भयो सरकार’ भन्दै राजावादी नेता कमल थापा गत शनिबार साइकल चढेर मण्डिखाटारमा झुल्किए । जवाफ पाए, ‘गर्नसक्ने त तिमी नै हौ !’

मुटुमा समस्या आएपछि ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएका पूर्वयुवराज पारस शाहलाई कमल अप्रत्यासित रूपमा भेट्न पुगेका थिए । शरिरमा कोलेस्ट्रोल र ट्राइग्लिसवेराइड (टिजी) बढेपछि पारसलाई मुटुको समस्या भएको थियो । रगतमा जम्ने बोसो बाक्लिएर मुुटुका धमनीमा अवरोध हुँदा यस्तो समस्या आउँछ । तर, पारसको स्वास्थ्यमा उल्लेख्य सुधार भएको कुरा उनैले कमल थापालाई सुनाए ।

कमलचाहिँ बिरामी भेट्नभन्दा बढी पहिलाका कुराले पूर्वराजपरिवारको मन दुखाएकोमा प्रायश्चित गर्दै त्यहाँ पुगेका थिए । भने, ‘सरकार, राजनीतिमा कहिलेकाँही यस्तो हुँदोरहेछ !’ पारसको जवाफ थियो, ‘राजसंस्था र हिन्दू राज्यको पक्षमा नेतृत्व गर्नसक्ने तिमी नै हौ, बुबासँग पनि म कुरा गर्छु ।’ उनले भने, ‘मेरो चिन्ता लिनुपर्दैन, मलाई केही हुँदैन, आजै घर फर्किन्छु ।’ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपातर्फ इंगित गर्दै उनको भनाइ थियो, ‘जसरी चल्नुपथ्र्यो, त्यसरी चलेन ।’ महामन्त्री राजाराम बर्तौलासहित कमल थापा त्यहाँ पुगेका थिए । 

अहिले पारसको बसाइ धुम्बाराहीस्थि कुण्डलिनी क्लब (पार्टी प्यालेस) अगाडिको अपार्टमेन्टमा छ । कुण्डलिनी उनका काका तथा पूर्वअधिराजकुमार स्व.धीरेन्द्र शाहका सन्तानहरूको स्वामीत्वमा थियो । पहिला फिटनेश सेन्टर हुँदै स्वास्थ्य संस्थाबाट अहिले बेचबिखन भएपछि पार्टी प्यालेस सञ्चालित छ ।
 

टिप्पणीहरू