कांग्रेस कार्यकर्ताका लागि कानुनमन्त्रीले कानुनको उपहास गरेको आरोप
कानुनमन्त्री धनराज गुरुङमाथि त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता जोगाउने खेलमा लागेको आरोप लागेको छ ।
चलाउनेलाई कुट्ने कांग्रेस भातृ संगठनका नेताविरुद्ध अदालतमा दायर मुद्दा प्रभावित पार्नेगरी मन्त्री गुरुङको अभिव्यक्ति आएको भन्दै जवाफदेहिता निगरानी समितिले त्यस्तो आरोप लगाएको हो । समितिका संयोजक चरण प्रसाईले आज विज्ञप्ति जारी गर्दै दलगत राजनीतिको साँघुरो घेरामा रहेर आरोपित नेविसंघका नेता तथा कार्यकर्तालाई उन्मुक्ति दिने उद्देश्यका साथ कानुन मन्त्रीको अभिव्यक्ति आएको दावी गरे ।
अदालतमा विचाराधीन मुद्दामा आरोपितलाई निर्दोष भएको ठहर गरी विभिन्न सञ्चारमाभ्यममा दिएका अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने विज्ञप्तिमा जनाइएको छ । संविधानले पीडितको मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै प्रसाइले आफ्नो क्षेत्राधिकार नाघेर अदालतल़ाई प्रभाव पार्ने एंव ज्यान मार्ने उद्योगका आरोपितको बचाऊमा मन्त्रीबाट सार्वजनिक अभिव्यक्ति आउनु स्वतन्त्र न्यायपालिकामाथिकै अनास्था ठहरिने बताएका छन् ।
‘आपराधिक गतिविधिमा संलग्न जोसुकैको संरक्षण लोकतान्त्रिक प्रणालीमा स्वीकार्य हुन सक्दैन । यसबाट पीडितको न्यायासम्बन्धी नैसर्गिक अधिकारको उल्लंघन हुनुका साथै दण्डहीनतालाई संस्थागत गर्ने र कानूनी राज्यको उपहास हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ ।
समितिले पीडितको न्यायको हक रक्षा गर्न, न्यायिक स्वतन्त्रता कायम राख्न, आपराधिक गतिविधिको राजनीतिकरण रोक्न, कानूनमन्त्री गुरुङलाई पदीय मर्यादाबाट विचलित नहुन भन्दै प्रेम चलाउनेको न्यायिक अधिकार सुनिश्चित गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
टिप्पणीहरू