सुवास नेम्वाङ्गका दुई छोराको पर्खाइ,एमाले महासचिव चीनबाट आजै फर्कँदै

सुवास नेम्वाङ्गका दुई छोराको पर्खाइ,एमाले महासचिव चीनबाट आजै फर्कँदै

संविधानसभाका अध्यक्ष,पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गएराति निधन भएको त्रिभुवन विश्वविद्यालय शिक्षण सँस्थान महाराजगन्जको चिकित्सा टोलीले जनाएको छ । 

बालुवाटारस्थित आफ्नै निवासमा राति १ बजे बाथरुममा लडेपछि उहाँलाई तत्काल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको इमर्जेन्सीमा पुर्याइएको थियो । राति पौने २ बजेतिर चिकित्सकले नेम्वाङलाई मृत घोषणा गरेका थिए । 

राति बाथरुममा लडेपछि चालकले आफू खाली खुट्टा र नेम्वाङलाई सुुतेको बेला लगाएको कपडामै अस्पताल पुर्याएका थिए । चिकित्सकहरुले हृदयाघातका कारण उहाँको निधन भएको जानकारी दिएका छन् ।

नेम्वाङको पार्थिव शरिर यतिखेर शिक्षण अस्पतालमा राखिएको छ । एमाले पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । उहाँका दुई छोरा विदेशमा रहेकाले उनीहरु आएपछि मात्र (किराँत संस्कृति मुन्धुमअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । एक जना छोरा बेलायतमा छन् ।

नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा कार्यकर्ताहरु शिक्षण अस्पताल पुग्नुभएको थियो । २०६४ र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष रहनुभएका ७१ वर्षीय उहाँ हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।

उपाध्यक्ष नेम्वाङको निधनको खबरपछि चीन भ्रमणमा रहेका महासचिव शंकर पोखरेल आफ्नो सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम रद्द गरेर आजै दलाई लामाको जन्मप्रान्त छिँघाइबाट स्वदेश फर्कन लाग्नुभएको  छ । उहाँ  सिनिङ र छन्तु हुँदै नेपाल आइपुग्ने कार्यक्रम छ ।

भ्रमण दलका अन्य २१ जना सदस्य पनि विमान टिकटको व्यवस्थापन गरेर जतिसक्दो छिटो स्वदेश फर्कन लागको बुझिएको छ ।

टिप्पणीहरू