उपाध्यक्षको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा झुकाउने
पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले तीन दिनसम्म आफ्ना पार्टी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
पार्टीले उहाँको गृह जिल्ला इलामको पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । नेम्वाङको सम्मानमा विशेष शोक प्रस्तावसमेत पारित गर्दै असोज २ गते पार्टीको केन्द्रीय कार्यालयमा विशेष श्रद्धाञ्जली कार्यक्रम राखिएको छ ।
नेम्वाङको गएराति पौने २ बजेको समयमा निधन भएको हो । साढे १ बजेको समयमा बाथरुममा अचेत भएर ढलेपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उहाँको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्यले श्रद्धाञ्जली दिनुभएको छ । त्यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगै नेता तथा कार्यकर्ताहरु पनि पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
यसैबीच सरकारले राजकीय सम्मानका साथ संविधान सभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय आज बिहानको आकस्मिक क्याबिनेट बैठकले गरेको छ । अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिइने छ ।
नेम्वाङका बेलायत र अष्ट्रेलियामा रहेका छोराहरु फर्किएपछि अन्त्येष्टि गरिने तयारी छ ।
टिप्पणीहरू