तिब्बती पर्यटन विकासको नमूना गान्जी
छङ्तु,२७ भदौ,
सन् १९५१ मे २३ गते तिब्बत र चीनवीचको १७ बुंदे सहमतिपश्चात १२ लाख वर्ग किमी ठूलो तिब्बत चीन स्वशासित बन्न पुग्यो । भीमकाय चीनको विकाससंगै तिब्बतका जनता, त्यसका प्राकृतिक श्रोत साधन,त्यसका संस्कृति, धर्मको संरक्षणसंगै आधुनिकतामा लैजान र त्यहाँका जनताको जीवनस्तर उकास्न निकै कठिन थियो ।
नेपाल–चीनको सम्बन्ध सीमाना मात्र नभई उत्तरी भूगोलका तिब्बती संस्कृति र ई.सं. ६३० को दशकमा नेपालका राजा अंशुवर्माकी छोरी भृकुटी (रानी बेल्सु) को विवाह तिब्बतका राजा श्रङचङ् गम्पोसंग भएपश्चात र नेपाल चीनको तिब्बत पहिलो कूटनीतिक सम्बन्धले पनि चीनको उत्तरी क्षेत्रसंग कसिलो साइनो छ । विश्व शक्ति राष्ट्रहरुले चीन र तिब्बत वीचको विवाद अगाडि ल्याउने र दलाई लामालाई फ्रि तिब्बतको मुद्धा उठाउन उचालिरहेको बेला चीन भने तिब्बतको द्रुत विकासमा लागेको देखिन्छ ।
त्यसको एउटा सानो नमूना हो चीन स्वशासित तिब्बतको सिचुवान अन्तरगत स्वायत्त प्रान्त गान्जी । १ लाख ५३ हजार वर्ग किमी क्षेत्रफल ओगटेको गान्जी क्षेत्र समुद्री सतहदेखि ३ हजार ५ सय मीटरको औसत उचाईमा छ । भौगोलिक विकट मानिने गान्जीको आर्थिक, सामाजिक,सांस्कृतिक तथा भौतिक विकासमा चीनले गरेको लगानीले यतिखेर विश्वव्यापी चर्चा बटुल्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण गान्जीलाई चीनले उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरेको छ । यहाँको दाओचेङ उपत्यका, सांग्रिला पर्यटकीय क्षेत्र यहाँका मुख्य प्राकृतिक पर्यटकीय क्षेत्र हुन् । ९२ प्रतिशत तिब्बती जनसंख्या रहेको यहाँका प्राकृतिक छटा विश्वकै अद्भूत मानिन्छ । यस क्षेत्रलाई पृथ्वीको प्राकृतिक प्रजातिहरुको महत्वपूर्ण जीन बैंक पनि ठानिन्छ । यहाँ ६५२ प्रजातिका वन्यजन्तु र ५२२३ प्रजातिका बनस्पति पाइन्छन् । यही चिसो हिमाली भ्याली हेर्न विश्वभरबाट चीनले गान्जीमा पर्यटक झार्दैछ । गान्जी प्रिफेक्चर जनसरकारका डेपुटी गर्भनर ह्वाङ जिन हुँले यो चीनकै शुद्ध पानीको वाटर टावर र प्रकृतिको स्वर्ग भएको बताए । “पर्यटन गान्जीको ५ प्रमुख आयको आधारमध्ये पहिलो हो” उनले भने ।
गान्जीमा आन्तरिक तथा बाह्य गरी बार्षिक ३० लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । जसका लागि चीन सरकारले ४ हजार १ सय मीटरको उचाईमा विश्वकै अग्लो स्थानमा डाओचे–यादिङ्ग विमानस्थल,गान्जी काङडिङ्ग विमानस्थल, याङ–कादिङ्ग एक्सप्रेस सडक सन्जाल निर्माण गरिसकेको छ । गान्जीका डाउचेङ, सिंगचेङ,लिटाङ्गसहित दर्जनौँ पर्यटकीय क्षेत्रमा अर्बौ लगानीका होटल सन्चालन गरिएका छन् । आवश्यक पर्यटकीय पूर्वाधारमा चीन सरकारले ठूलो लगानी गरेको सहजै देखिन्छ । पर्यटन विकासका लागि चीनले तिब्बतको परम्परागत संस्कृति, स्थानीय खाना,गीत संगीत,संस्कार, भाषालाई प्रबर्धनसमेत गरेको देखिन्छ । जसबाट तिब्बतीहरुले रोजगारीसंगै आयआर्जनलाई सहज बनाउँदै लगेका छन् । यसबाट तिब्बतीहरुले चीनको सरकारलाई हेर्ने दृष्टिकोण १० बर्ष यता निकै फेरिएको डाउचेङ्गका स्थानीय रोङ डिहान झु बताउँछन् । “हामी तिब्बतीहरुलाई चीनले रोजगार मात्र होइन, रनिःशुल्क स्वास्थ्य, रगुणस्तरीय शिक्षा, भौतिक विकास, आधुनिक कृषि प्रणाली र विश्वकै शक्तिशाली नागरिक बनाएको छ, हामीलाई यसप्रति गर्व छ” दावचेङकी छेरियोङछुले भनिन् । अहिले त्यस क्षेत्रको प्रतिव्यक्ति आय ४३ हजार ८ सय ४१ चिनिया युआन कायम गरिएको छ ।
चीनको गान्जी जस्तै नेपालका दर्जनौ क्षेत्रमा प्राकृतिक अनुपम र सुन्दरता छ तर त्यसको विकासका लागि चिनिया मोडेल नै उपयुक्त देखिन्छ । नेपाल जस्तै विकट भूगोलमा चीनले जसरी गान्जी क्षेत्रको प्राकृतिक सुन्दरता पर्यटकहरुलाई बेचिरहेको छ त्यसरी नै नेपालले सगरमाथा देखि कन्चनजंघा र माछापुछ«े क्षेत्रलाई पर्यटकीय गन्तव्यमा सहज पहुँच बनाउन आवश्यक देखिन्छ ।
टिप्पणीहरू