नेता यादवमाथि अत्याचार भएको भन्दै जसपाका कार्यकर्ता सडकमा

नेता यादवमाथि अत्याचार भएको भन्दै जसपाका कार्यकर्ता सडकमा

जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशका उपाध्यक्ष तथा मोरङका अध्यक्ष राजकुमार यादवमाथि नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै सो  पार्टीका कार्यकर्ता विरोधमा उत्रिएका छन् । विराटनगर महानगरपालिकाको कार्यालय अगाडि जसपा कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । 

अस्ति बुधबार कोशी अस्पतालको मूलगेटअगाडि स्नेह फार्मेसीमा यादवमाथि दुर्व्यवहार भएको थियो । नगर प्रहरीहरुले यादवलाई लछारपछार गर्दै फार्मेसीबाहिर ल्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नगर प्रहरीको हर्कतविरुद्ध चर्को आलोचना गरिरहेका छन् । नगर प्रहरीहरुको दादागिरीले सीमा नाघेको भन्दै उनीहरुले आपत्तिसमेत जनाएका छन् । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्,‘यो नगर प्रहरीको दादागिरी मूर्दावाद । जसपा मोरङका अध्यक्ष राजकुमार यादवलाई विराटनगर महानगरपालिकाका प्रहरीले निकृष्ट तरिकाको अभद्र व्यवहार गरेकोप्रति खेद व्यक्त गर्दछौं । औषधी पसलमा बसिरहेका उनलाई घोक्रयाएर बाहिर निकालेको दृश्य सहज तरिकाले पचाउन सकिन्न । यसबारे छानबिन गरेर दोषीउपर कारबाही गरियोस् ।’ 

यता, विभिन्न राजनीतिक दलसम्बद्ध पार्टीले विज्ञप्ति जारी गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । निम्न वर्गीय मजदुर (सिटी सफारी चालक) को पक्षमा बोल्दा यादवमाथि दुर्व्यवहार गरिएको जसपाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । भनिएको छ,‘निम्न वर्गीय मजदुर (सिटी सफारी चालक) को न्यायपूर्ण आवाजलाई मुखरित गर्दा एवं दैनिक रोजगारीका मजदुर श्रमिकको हकहितमा बोल्दा दुर्व्यवहार गरिएकोले पार्टीका नेता र आम नागरिकको वाक स्वतन्त्रता र राजनीतिक कार्य सम्पादनमाथि बन्देज लगाउने दुश्साहस गरिएको छ ।’

पार्टीका कार्यकर्ताले आन्दोलनमा ‘महानगरको ज्यादती बन्द गर’,‘नगर रक्षकको गुण्डागर्दी चल्दैन्’,‘दोषी नगर प्रहरीहरुलाई बर्खास्त गर’,‘महानगर प्रमुखले आफ्नो बचन पूरा गर’,‘हाम्रो शान्तिपूर्ण आन्दोलन जारी छ’,‘नागेश कोइराला राजीनामा दे’ लगायतका प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका छन् । 

महानगरपालिकाको सूचना अधिकारी अनिता न्यौपाने (कोइराला) ले हाल अवस्था सामान्य बनिसकेको जानकारी दिइन् । उनीहरुसँग छलफलको तयारी भइरहेको उनको भनाइ छ ।

टिप्पणीहरू