प्रधानमन्त्रीसँगै आज अमेरिका उड्ने टोलीमा जम्मा आठ जना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्युयोर्क जान लाग्नुभएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन उहाँ साँझ ६ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै त्यसतर्फ जाने कार्यक्रम छ ।
पहिले दुई दर्जन जाने भनिएको टोली हिजो साँझसम्म घटेर १२ मा झरेको छ । तीमध्ये पनि आज प्रधानमन्त्रीसँगै जानेको संख्या जम्मा आठ कायम भएको छ ।
‘आज जानेमा आठ जना हुुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यू,उहाँकी छोरी तथा निजी सचिव,दुई जना सुरक्षा अधिकृत र एक जना फोटोग्राफर मात्रै सचिवालयबाट परेका छन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
परराष्ट्र मन्त्रालयबाट मन्त्री एनपी साउद,मन्त्रीका पिए,सचिव भरतराज पौडेल,प्रोटोकल चिफ दिलिप पौडेल,उत्तम न्यौपाने र प्रवक्ता सेवा लम्साल रहेको जानकारी दिइएको छ । तीमध्ये मन्त्री,उनका पिए र प्रवक्ता लम्साल यसअघि नै उता गइसकेका छन् ।
पहिले २४ जना भनिएको टोली घटेर अमेरिका जानेको संख्या अब एक दर्जनमा सीमित भएको हो । प्रधानमन्त्री अमेरिकाबाट असोज ४ गते सोझै चीन जानुहुनेछ ।
असोज ५ गतेदेखि शुरु हुने चीन भ्रमणमा सहभागी हुने टोलीबारे हिजोको क्याबिनेटले निर्णय गरेको बुझिएको छ । स्रोतले भन्यो, ‘आवश्यकताअनुसार असोज पहिलो सातासम्म संख्या घटबढ हुने भएकाले ठ्याक्कै तोकिएको छैन ।’
टिप्पणीहरू