नेपाल गुम्ने खतरा बढ्यो

नेपाल गुम्ने खतरा बढ्यो
सुन्नुहोस्

भद्र, कम बोल्ने तर कुनै पनि विषयको गहिराइमा गएर त्यसलाई आफ्नो मान्यतामुताविक पेश गर्ने नेताका रूपमा चिनिन्छन् देव गुरुङ । ०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य हुँदै राजनीतिक यात्रा अगाडि बढाएका उनी ०४० सालमा अखिल आठौंको केन्द्रीय अध्यक्ष बने । त्यसयता ०४७ सालबाट नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य रहे । ०४८ सालको संसदीय चुनावमा कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित बन्न पुगेका उनी ०५१ मा तत्कालीन नेकपा माओवादी पार्टीको पोलिटब्यूरो सदस्य निर्वाचित भए । ०५३ देखि ०५७ सालसम्म जेल जीवन बिताएका र भूमिगत अवस्थामै २०६१ सालमा पार्टीको स्थायी समिति रहेका उनी ०६२ मा नेकपा माओवादीको तर्फबाट वार्ता टोलीको सदस्य थिए । दुई पटक सरकारमा पुग्ने मौका पाए र स्थानीय विकास र कानुनमन्त्री बने । माओवादी केन्द्र विभाजन हुँदा मोहन वैद्यलाई साथ दिएका उनी २०७० सालको दोस्रो संविधानसभा चुनाव बहिष्कारको पक्षमा थिए । २०७३ साल जेठ ६ गते रामबहादुर थापासहितको टोली माओवादीमा फर्किंदा गुरुङ पनि सँगै भए । ०७९ सालको निर्वाचनमा एमालेका पृथ्वीसुव्बा गुरुङसंग पराजित भए । लामो समय सहयात्री रहेका पृथ्वीसुब्बा गुरुङसँग चुनावी क्रममा आमनेसामने हुँदैमा पुरानो हार्दिकतामा कुनै कमी नभएको देव सुनाउँछन् । कुनै कुरा बुझ्न ढिला गरे पनि बुझिसकेको विषयवस्तुको परिपक्व प्रस्तुतिकरणमा अब्बल मानिन्छ । नेपालमा पश्चिमाहरूको चलखेल बढ्दै गएको र उनीहरूकै इच्छामुताविक एमसिसीजस्ता परियोजना भित्रिएको, यसले नेपाल पश्चिमाहरूको झनै क्रीडास्थल बन्ने र कालान्तरमा संघीयता, गणतन्त्र नै सखाप हुने हो कि ? भन्ने चिन्ता पोख्छन् उनी । 

– हरि गजुरेल

नेकपालाई एक बनाइराख्न, वाम एकता गराउन निकै कस्सिनुभएको थियो, किन सफल हुन सक्नुभएन ? 

– ढिलो–चाँडो एकीकरण अनिवार्य छ । 

अघिल्लो महिना उत्तरी छिमेकी मुलुकका नेताहरुले ओली खराब भए पनि सिंगै एमाले पार्टी खराब होइन भनेर एकताको सन्देश दिई पठाएको थियो भन्ने सुनिन्छ । वास्तविकता के हो ?

– त्यो नितान्त अनौपचारिक भेटघाट थियो । यस प्रकारको भेटघाटको सिलसिला जहाँ, जहिले पनि चलिरहन्छ नै । यस्तो भेटमा कम्युनिष्टहरूबीच छलफल र बहस सँगसँगै चलिरहन्छ । विचारका आधारमा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो धारणा, सुझाव राखिरहन सक्छ । सद्भाव र सुझाव दिइरहन्छ । ती कुरा नेपालको ग्राउण्ड रियालिटीमा कति मेल खान्छ, कति कार्यान्वयन हुन्छ त्यो बेग्लै कुरा हो । 

नियमित सेड्युल नबिग्रिएको भए अहिले (२३ भदौमा) तपाईं लण्डनमा हुनुहुन्थ्यो । भीसा लाग्यो र अन्त्यमा उता जाने कार्यक्रम किन रद्द भयो ?

– सेप्टेम्बर ९ लाई कार्यक्रम तय भएको थियो । ८ तारिख बेलुका मात्र भिसा आइपुग्यो । भीसा नआएपछि जाने कुरै भएन । त्यहाँ कति तयारी भयो, कति तयारी भएन त्यो पाटो आफ्नो ठाउँमा छ । 

समाजवादी मोर्चामा विप्लवलाई समेटियो तर उनलाई माओवादीमा ल्याउने तयारी कहाँ पुगेर अड्कियो ? 

– वप्लव हुन वा अन्य कम्युनिष्ट घटकबीच एकताको प्रक्रियालाई जोड दिनुपर्छ र त्यस दिशामा पहल गर्नुपर्छ भन्ने कुरा स्वतः सिद्ध विषय भयो । अहिले बनेको समाजवादी मोर्चा पार्टी एकताका लागि पूर्वाधार बन्न सक्छ, नहुन पनि सक्छ । कुरा मिल्दै गए भोलि पार्टी एकीकरणमा रूपान्तरण हुन पनि सक्ला । मोर्चाको मान्यताअनुसार सहकार्य र यात्रा जारी छ । लेफ्ट पार्टीबीच एकीकरण गर्नुपर्छ भन्ने पार्टीको मान्यता त छ तर अहिले नै परिणाममुखी निश्कर्षमा पुगिसकेको स्थिति होइन । 

समाजवादी मोर्चामै अटाएनन् बाबुराम, किन पर घचेटिए ?

– आपसी सहमतिका आधारमा निर्णय गर्ने हो । त्यसमा सर्वसहमतिले निर्णय हुन सकेन । यसो हुँदा उहाँहरू सहभागी हुन नसक्नुभएको हो । भविष्यमा अरु नयाँ घटक पनि थपिन सक्छ । 

कुनै समयको जल्दो बल्दो माओवादी पार्टी किन निरन्तर क्षयीकरण भइरहेको छ, यसको ओरालो यात्रालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ? 

– निश्चित रूपमा लेफ्ट मुभमेन्ट नै उतारचढाव, बाङ्गो टिङ्गो ढंगबाट अगाडि बढिरहेको पाइन्छ । माओवादी पार्टीमात्र त्यो नियमको अपवाद बन्न सक्दैन । विश्व कम्युनिष्ट आन्दोलनलाई हेर्दा एउटै मुलुकमा एउटा मात्र कम्युनिष्ट पार्टी पनि छ र त्यहाँभित्र दुई लाइन संघर्ष छ । त्यही संघर्षले पार्टीलाई रूपान्तरण गर्दै लैजान्छ । तर नेपाल विकासको गतिको नियमअनुसार कम्युनिष्ट पार्टीहरू विविधतामा गए । थोरै अन्तरविरोध पैदा हुनेबित्तिकै फरक–फरक रूपमा जान थाले । जनवादी केन्द्रीयताको क्रियान्वयनमा सन्तुलन मिलाउन नसक्दा पार्टीभित्र विचारको शत्रुता, दुई लाइन संघर्ष हुन्छ तर एकै ठाउँमा संगठित हुनुपर्छ भन्ने विषय रुसी र चिनियाँ कम्युनिष्ट पार्टीलाई हेर्दा थाहा हुन्छ । पञ्चायतकालमा राजनीतिक भन्दा विधिका कुराले बढी काम गरेको थियो । अहिले अन्तरविरोधलाई कसरी ह्याण्डल गर्नेभन्ने कुरामा निर्भर गर्दछ । कार्यनीतिक रूपमा अप डाउन भइरहन्छ । एकाधिकार पुँजीवादले व्यक्तिका रुचिलाई हाइलाइट गर्दै लगेको छ । व्यक्तिको प्रश्नलाई केन्द्रविन्दु बनाउने वित्तिकै समूहको कुरै छोडौं व्यक्ति व्यक्ति बीचमा संघर्ष भइरहन्छ ।

अहिलेको निर्वाचन भनेको पुँजीवादी निर्वाचन हो । यस्तो निर्वाचन पैसाको बलमै हुने हो । जहाँ पैसा हुन्छ त्यहाँ प्रोपोगाण्डा हुन्छ । पुँजीवादी निर्वाचनको आधारमा मात्र कम्युनिष्टलाई मापन गर्न हुँदैन । पञ्चायतकालमा पटक पटक चुनाव हुन्थ्यो र सम्पूर्ण पञ्च नेपाली, सम्पूर्ण नेपाली पञ्च भनिन्थ्यो । आखिरमा के हालत भयो, देखिएन र ? काठमाडौंको चुनावमा विचार, आदर्श विनाको ह्विम आउने र अनपेक्षित पात्रले जित्ने गरेको देखिन्छ । बहुदलमा पनि त्यहीअनुसार अप डाउन भइरहेको छ । त्यसैलाई मात्र मूल मापदण्ड बनाउनु हुँदैन ।

७४ को झण्डै ६४ प्रतिशत वामपन्थी मत ५ वर्ष नपुग्दै झण्डै २० प्रतिशतले घटेको देखियो । वैकल्पिक शक्ति कत्तिको चुनौतीपूर्ण हुने देख्दै हुनुहुन्छ ? 

– वैचारिक र राजनीतिक रूपमा हामीले कुन कोर्स लिन्छौं त्यसकै आधारमा दिगोपना खोज्नुपर्छ । वैचारिक निरन्तरता र वर्ग संघर्षको नियमलाई ठीक ढंगले पकडेर अगाडि बढ्न सकेनौं भने जतिसुकै शक्तिशाली भए पनि पानीको फोका झैं क्षणिक हुन्छ । 

तपाईं आफैं महासचिव रहेको पार्टी वैचारिक रूपमा कत्तिको सही ट्र्याकमा हिँडेको पाउनुहुन्छ ? 

– ०७८ पुसको आठौं महाधिवेशनले तयार पारेको राजनीतिक दस्तावेज नै अहिलेको हाम्रो मूल रणनीति, कार्यदिशा हो । तर रणनीतिक पाटोमा सही हुँदाहुँदै पनि कार्यनीतिमा हाम्रा केही सीमा र कमीकमजोरी छन् । त्यसकै लागि तीन महिने अभियान सञ्चालन गरेका छौं । 

वर्षमान र जनार्दनबीच लफडाको चुरो के हो ? 

– संगठनात्मक रूपमा म कसैको नाम लिन चाहन्न । व्यक्ति वा पात्रसँग जोडेर दुई लाइन संघर्षको रूपमा अथ्र्याउने कुरा नै वस्तुसंगत र यथार्थसंगत हुँदैन । जीवन्त पार्टीमा वैचारिक, बहस छलफल सुषुप्त रूपमा सदैव चलिरहन्छ । संगठनात्मक रूपमा एकै ठाउँमा रहेको स्थितिमा विचारको हिसाबले पनि एकै ठाउँमा रहन्छ । 

तपाईं पार्टीको सचेतक हुँदा जनआस्थासँगको अन्र्तावार्तामा नेकपा फुट्ने, एमसिसी जसरी पनि पास हुने दावा गर्नुभएको थियो । यो स्थिति आउँदै छ भन्ने दूरदृष्टिताको आधार के थियो ? 

– इष्ट इण्डिया कम्पनीले राणाहरूलाई आफ्नो हातमा लिएर एक प्रकारको कोलोनी शुरु गरे । साशन, प्रशासन, सुरक्षा, न्याय प्रणाली सबै अंग्रेजहरूकै मान्यताअनुसार सञ्चालित हुन थाले । राज्य सत्ताको निर्माणमा पश्चिमाहरूकै दवदवा रह्यो । कम्युनिष्ट पार्टीहरू सदन र सरकारमा पुग्नेबित्तिकै जनताका सबै इच्छा आकाँक्षा पूरा हुन सक्दैनन् कारण एकाधिकार, दलाल, पुँजीवाद, सामन्तवाद भन्दा कयौं गुणा शक्तिशाली छ । दलाल, पुँजीवादसँग लड्नका लागि कम्युनिष्ट शक्ति मात्र होइन कि गैरकम्युनिष्टबीच बृहत्तर मोर्चा बन्नुपर्छ । 

तपाईं एमसिसीको चर्काे विरोधी, एमसिसी पास भएर पनि कार्यान्वयनमा गइरहेको छ । एमसिसीप्रतिको दृष्टिकोण फेरियो कि उस्तै छ ? 

– एमसिसीलाई हेर्ने धारणामा कुनै बदलाव आएको छैन । आर्थिक विकास परियोजना भनिएको हुँदा नेपालीले त्यही रूपमा बुझ्न खोजेका हुन् । एमसिसी अमेरिकनले इन्डो प्यासिफिक पार्टनरसिपको हिस्सा हो भने सँगै यो आर्थिक परियोजना मात्र होइन रहेछ भन्ने क्लियर भएको छ । हेर्न बाँकी छ उनीहरू १२ बुँदेअनुसार जान तयार हुन्छन् कि हुँदैनन् । कुनै पनि परियोजना निरपेक्ष हुँदैन । उनीहरूले १२ बुँदेलाई लिखित रूपमा हुन्छ भन्न सकेको छैन, हुँदैन भनी लेखेर दिएको छैन । जबसम्म स्वीकार्य हुन्छ भनेर पत्राचार हुँदैन तबसम्म एमसिसीको ग्यारेन्टी छैन । जुन दिन नराम्रो संकेत देखिन्छ त्यही दिन स्टप हुन्छ । संसदभन्दा ठूलो कुनै परियोजना हुँदैन ।

हिजो नेकपा बचाउनका लागि तपाईं र पृथ्वीसुब्बा गुरुङहरू खटिनुभयो, पार्टी अलग भएसँगै उहाँसँगै भिड्नुप¥यो । यो चुनावी संघर्षले हिजोको हार्दिकतामा कमी आएको छ कि उस्तै छ ? 

– यो व्यक्तिगत लेनदेनको विषय हो । प्रणाली र व्यवस्थाअनुसार गरिएको हो । विचार मिलुञ्जेल एकै ठाउँमा हुन्छ । मुद्धाका हिसाबले लेफ्ट पार्टी एक हुनुपर्छ भन्ने विषयमा माओवादीमात्र होइन एमालेभित्र पनि धेरै साथीहरू रहेको पाउँछु । नेपालको इतिहासमा अहिलेको जस्तो संकट विगतमा विरलै पैदा भएको थियो । यो संकट लामो समय रहँदैन । यो अवधिमा कुशलतापूर्वक सबै दललाई मिलाएर लैजान सकियो, कुनै सैन्य गठबन्धनमा नरहने गरी लैजान सकियो भने नेपाल बच्यो । थोरै दायाँ बायाँ भएको खण्डमा नेपाल गुम्ने खतरा उत्तिकै छ । यही स्टेपमा कहीँ दायाँ बायाँ भएको खण्डमा ठूलै अनिष्ट हुन सक्छ । तसर्थ मुलुकको स्वाधिनता, सार्वभौम अधिकारको रक्षाका लागि सम्पूर्ण कम्युनिष्ट देशभक्त, राष्ट्रवादी शक्ति एक भएर अगाडि बढ्नुको विकल्प छैन ।
 

टिप्पणीहरू