प्राध्यापककी छोरीलाई पास गर्न उत्तरपुस्तिका साटफेर गरेको खुलेपछि महेन्द्र मोरङमा लफडा

प्राध्यापककी छोरीलाई पास गर्न उत्तरपुस्तिका साटफेर गरेको खुलेपछि महेन्द्र मोरङमा लफडा

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका एक प्राध्यापकले आफ्नो छोरीलाई पास गराउन विद्यार्थीको उत्तरपुस्तिका साटफेर गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । 

प्राध्यापक राजन दत्तले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आफ्नी छोरी आस्था दत्तलाई अर्की विद्यार्थी सन्ध्या कायस्थको थप उत्तरपुस्तिका निकालेर पास गराएको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित विद्यार्थीहरूले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नेविसंघका कार्यवाहक सभापति प्रशान्त यादव, अनेरास्ववियुका अध्यक्ष केशव भण्डारी, अखिल (क्रान्तिकारी) का अध्यक्ष रोहित यादव, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष राकेशकुमार यादव र अनेरास्ववियूका सचिव शिरेन्द्र भुजेलले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख डा. बाबुराम तिमसिनालाई क्याम्पस प्रवेशमा रोक लगाएको बताएका छन् । 

सन्ध्यालाई न्याय माग्दै यसअघि २४ घण्टे अल्टिमेटम पत्र बुझाएपनि उनले घटनालाई आलटाल गरी सामसुम बनाउन खोजेको विद्यार्थी संगठनहरुको आरोप छ । 

‘क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको प्रमुखको कार्यकक्षमा तालाबन्दीपश्चात क्याम्पस प्रमुखको पनि थप वार्ताका लागि सम्पर्क गर्दा भाग्ने, मोबाइल स्वीच अफ गर्नेजस्तो गैरजिम्मेवारी कार्य गरेको हुँदा निम्न पीडित विद्यार्थीको रिजल्ट प्रकाशित नभएसम्मको लागि क्याम्पस प्रमुख डा. बाबुराम तिमसिनालाई क्याम्पस प्रवेशमा निषेध गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू