बालकको आँखा फुटाउने सशस्त्र प्रहरीमाथि कारवाहीको माग

बालकको आँखा फुटाउने सशस्त्र प्रहरीमाथि कारवाहीको माग
सुन्नुहोस्

-नमस्कार शाह

बालकको आँखा फुटाइदिएका सशस्त्र प्रहरीमाथि कारवाहीको माग गरिएको छ । सशस्त्र प्रहरीको कुटाईबाट तीन साताअघि नेपालगञ्ज १४ निवासी जैयद हास्मीको आँखा फुटेको हो ।

उक्त घटनामा संलग्न सशस्त्र प्रहरीको पहिचान हुन नसकेपछि हालसम्म कारवाही हुन नसकेको बताइएको छ । घाइते बालकको फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

अधिकारकर्मीहरुले उक्त घटनाको निन्दा गर्दै दोषीमाथि छानबिन र कारवाहीको माग गरेका हुन् । जनसेवामा खटिएका प्रहरीलेनै निर्दोष बालकमाथि गम्भीर कुटपिट हुनु दःखद र चिन्ताजनक विषय भएको उनीहरुको भनाई छ । यसबाट बालअधिकार, मानवअधिकारको ठाडो उल्लंघन समेत भएको अधिकारकर्मीहरुले बताएका छन् । 

उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । एक दर्जनबढी अधिकारकर्मीहरुले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौरलाई भेटेर घटनाको अनुसन्धान गर्दै दोषीमाथि कारवाही गर्नुपर्ने लिखित आवाज उठाएका छन् । ज्ञापन पत्रमा सो घटनाबारे राज्य र सरोकारवाला निकायले हालसम्म कुनै किसिमको चासो नदेखाएकोप्रति आपत्ति व्यक्त गरिएको छ । 

निर्दोष बालकमाथि भएको कुटपिटको घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै उक्त समयमा खटिएको प्रहरी टोलीमाथि गम्भीर अनुसन्धान गर्न माग गरिएको छ । ‘बालकलाई न्याय र पीडकलाई कानुनबमोजिम कडा कारवाहीको समेत माग गर्दछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

घटनाबारे छानबिन गरी दोषीलाई कारबाही नगरिए कडा आन्दोलन गरिने चेतावनी दिइएको छ । बालअधिकारकर्मीहरु साहिल अन्सारी, अञ्जना चतुर्वेदी, श्वेता गुरुङ, सलमान सल्मानी, शहाबुद्दिन हलवाई, अंकित मिश्रा, अभियन्ता डा. विनोद कर्ण, सामाजिक अभियन्ता समिर अली बेहना र प्रकाश कुँवरले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् । 

गत भदौ १४ गते नेपालगञ्जको चौलिक्का चोकमा स्थानीयबासी र प्रहरीसँगको झडपमा सशस्त्र प्रहरीको प्रहारबाट बालकको आँखा फुटेको हो । उक्त दिन बेलुकी सशस्त्र प्रहरी र स्थानीयबीच भएको झडप संलग्न नभएका हास्मिलाई सशस्त्र प्रहरीले निर्घात कुटेको हास्मिका परिवारको दाबी छ । 

पीडित बालकले सो दिन रातको समयमा चौलिका नजिकैको ठेलामा माछा खाने क्रममा सशस्त्र ३० नम्बर गणद्वारा खटिएको टोलीले तस्करको संज्ञा दिँदै राइफलको कुन्दाले आफूलाई हानेपछि आँखा फुटेको हो ।

टिप्पणीहरू