प्रधानमन्त्रीको स्वागतका लागि चिनियाँ राजदूत स्वदेश प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि आगामी १३ गतेसम्म चीनको भ्रमण गर्दै हुनुहुन्छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रचण्ड हङकङ हुँदै भोलि मध्यान्ह चीनको हाङ्चौ शहर पुग्ने कार्यक्रम छ ।
भोलि अपरान्ह चिनियाँ राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेपछि साँझ सोही सहरमा आयोजना हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुुहुनेछ ।
प्रधानमन्त्रीको स्वागतका लागि नेपालका लागि चिनियाँ राजदूत छन् सोङ आज काठमाडौंबाट छन्तु हुँदै हाङचौका लागि प्रस्थान गर्नुभएको छ । उहाँ एअर चाइनाको उडान नम्बर सिए ४३८ मा आज दिउँसो पौने १ बजे त्यता जानुभएको हो ।
सोही उडानमा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसहितको उच्चस्तरीय सरकारी टोली पनि चीन प्रस्थान गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव वैकुण्ठ अर्याल, प्रधानमन्त्रीका स्वकीय सचिव रमेशकुमार मल्ल, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी एसिया महाशाखाका सहसचिव अमृतबहादुर राई, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक रूपक सापकोटा पनि आजै छन्तु हुँदै त्यता गएको बताइएको छ ।
एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष शिव कोइराला हिजै हाङ्चौ पुगिसकेका छन् । विभिन्न राजनीतिक दलका नेता, खेल पदाधिकारी, सरकारी अधिकारीलगायत अस्तिदेखि त्यसतर्फ गइरहेका छन् ।
टिप्पणीहरू