प्रधानमन्त्री हाङ्चौबाट बेइजिङमा, सिसँग पुनः भेट हुने सानो सम्भावना

प्रधानमन्त्री हाङ्चौबाट बेइजिङमा, सिसँग पुनः भेट हुने सानो सम्भावना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङ पुग्नुभएको छ । अमेरिकाबाट सोझै दक्षिणपूर्वी शहर हाङ्चौमा हिजो बिहान टेक्नुभएका उहाँ आज बिहान राजधानी जानुभएको हो । 

हिजो अपरान्ह राष्ट्रपति सि जिनपिङसँग एक्लाएक्लै र सामुहिक दुई भेटपछि उहाँ राति एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्रीलाई बेइजिङस्थित स्टेट गेस्ट हाउस दियाओयुथाइमा बस्ने प्रबन्ध मिलाइएको छ । आजै अपरान्ह नेपाल–चीन बिजनेस समिटमा सहभागी भएर साँझ ६ बजे चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

भोलि बिहान प्रधानमन्त्री दाहालले समकक्षी लि छियाङसँग ग्रेट हल अफ दि पिपुल्समा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि विभिन्न सम्झौतामा पनि हस्ताक्षर हुनेछ । 

प्रधानमन्त्रीले चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समिति अध्यक्ष चाओ लेचीसँग पनि भेटवार्ता गर्नुहुनेछ । उच्च स्रोतका अनुसार भोलि अपरान्ह बेइजिङबाट छोङछिङ जानुअघि उहाँले राष्ट्रपति सि जिनपिङसँग छुट्टै भेटघाट गर्ने सम्भावना छ । तर,यसबारे चिनियाँ र नेपाली अधिकारीहरुले केही बताएका छैनन् ।

टिप्पणीहरू