शिक्षा विधेयक प्रक्रियाअनुसार अघि बढाउन भूमिका खेल्छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसदमा दर्ता भएको शिक्षा विधेयकमा आफूले सभामुखीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सातदिने आयरल्याण्ड भ्रमण पूरा गरी आज स्वदेश फर्किनुभएका सभामुखले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राख्नुभएको हो । शिक्षा विधेयकका सम्बन्धमा भएका विरोध र आन्दोलनबारे सोधिएको प्रश्नमा सभामुखले अन्य विधयेकजस्तै प्रक्रियाअनुसार अघि बढाइने बताउनुभयो ।
‘विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,’ उहाँले भन्नुभयो, ‘विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुंग्याउने काम हुन्छ ।’
त्यसक्रममा सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका दौरान त्यहाँका समकक्षीसँग भेटवार्ता गरेको र दुई देशबीचको संसदीय आदान प्रदान लगायतका विषयमा गम्भीर छलफल भएको जानकारी दिनुभयो । संसदका कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि कुराकानी भएको उहाँको भनाई छ ।
‘दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु,’ उहाँले अगाडि भन्नुभयो, ‘संसदका कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौं ।’
सभामुख घिमिरेले नेपाली विद्यार्थीलाई दिन सक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहितका नेपाली जनशक्तिको रोजगार लगायतका विषयमा आयरल्याण्डका राष्ट्रपति र मन्त्रीसँग कुरा गरेको पनि उल्लेख गर्नुभयो । स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।
टिप्पणीहरू