राष्ट्रपति पूजाआजामा व्यस्त,ठूलै टोलीमा हेलिकोप्टरबाट जनकपुर

राष्ट्रपति पूजाआजामा व्यस्त,ठूलै टोलीमा हेलिकोप्टरबाट जनकपुर

राष्ट्रपति रामचन्द्र पौडेल श्रीमती सवितासहित जनकपुर जानुभएको छ । उहाँ जानकी मन्दिरमा पूजाआजा गर्न बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

राष्ट्रपतिको टोलीमा शहरी विकासमन्त्री सीता गुरुङ,कार्यवाहक प्रधानसेनापति सरोजप्रताप राणालगायत छन् । टोली सेनाको हेलिकोप्टर एनए ०६२ कासामा त्यता जान बिहान साढे ७ बजे राष्ट्रपति कार्यालय, शीतल निवासबाट विमानस्थलतर्फ लागेको थियो ।

राष्ट्रपति पौडेलले धनुषधाम र अखण्ड कीर्तनको दर्शनपछि महन्तको कक्षमा प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । उहाँ केहीबेर त्यहाँ बसेर प्रदेश प्रमुखले आयोजना गर्ने जलपान कार्यक्रममा सहभागी हुनु हुनेछ ।

राष्ट्रपतिलाई नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालय गेष्ट हाउसमा आराम गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ दिवा भोजन गरेपछि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्ने कार्यक्रम राखिएको छ । आजै जनकपुर उपमहानगरपालिकाले राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गर्दैछ । उहाँ साँझ राजधानी फर्कनुहुनेछ । 

राष्ट्रपति पौडेल अस्ति शनिबार गृहजिल्ला तनहुँ पुगेर स्थानीय भँगेरेस्थानमा पूजा गर्नुभएको थियो ।

टिप्पणीहरू