एसियाड क्रिकेटमा विश्व कीर्तिमान, मंगोलियाविरुद्ध नेपालको ३१५ रनको लक्ष्य

एसियाड क्रिकेटमा विश्व कीर्तिमान, मंगोलियाविरुद्ध नेपालको ३१५ रनको लक्ष्य
सुन्नुहोस्

चीनको हाङ्चौमा भइरहेको एसियाली खेलकुदको क्रिकेट प्रतियोगितामा मंगोलियालाई तीन सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरेपछि उक्त लक्ष्य प्राप्त भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रन बनाएको छ । यो लक्ष्य विश्व टी–२० मा हालसम्मकै ठूलो हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई  सय ७८ रन बनाएका थिए ।

आज बिहान भएको खेलमा कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित एक सय ३७ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित ५२ रन बनाएका छन् । 

३४ बलमा सतक प्रहार गरेकाले कुशल टी–२० को इतिहासमा सर्वाधिक छिटो सतक प्रहार गर्ने कीर्तिमानी ब्याट्सम्यान बनेका छन् ।

कप्तान रोहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बनाएका छन् ।
 

टिप्पणीहरू